चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध पूर्वका तीन उद्योग संघद्धारा बृहत्त मौन जुलुस « Arthapath.com
२३ कार्तिक २०७९, बुधबार

चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध पूर्वका तीन उद्योग संघद्धारा बृहत्त मौन जुलुस



काठमाडौं । मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ले चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध बृहत्त मौन जुलुस आयोजना गरेको छ ।

मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १को नेतृत्वमा आज विहान १०ः३० बजे मोरंग व्यापार संघको प्राङ्गणमा तिनै संघ–संस्था सहित निजी क्षेत्रका अन्य थुपै्र संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी–व्यवसायीहरु र आम सर्व साधारणहरुको वृहत उपस्थितिमा आयोजित सो मौन जुलुसले विराटनगर बजार हुँदै नेपाल राष्ट्र बैंकको प्रदेश नं.१ को कार्यालय गई कार्यालयकी प्रमुख मिना पाण्डे मार्फत नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीका लागि ज्ञापन पत्र बुझाएको छ । त्यसका साथै सो मौन जुलुस जिल्ला प्रशासन कार्यालय, मोरङ गई प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का लागि ज्ञापन पत्र बुझाएको छ ।

विद्यमान बैंकिङ समस्याहरु निराकरणार्थ आवश्यक सुझावहरु सहित तयार पारिएको सो ज्ञापन पत्र सम्बन्धित निकायमा हस्तान्तरण गर्ने क्रममा मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १का अध्यक्ष भीम घिमिरे सहित विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्