नेपालको वैदेशिक व्यापारमा सुधार, आयात र निर्यात दुवै बढ्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा व्यापाक सुधार देखिएको छ । पछिल्लो समय आयात र निर्यात दुवै वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत साउनदेखि बैशाख मसान्तसम्म आइपुग्दा निर्यात झन्डै ७२ प्रतिशत वृद्धि भएको छ भने आयात १३ प्रतिशत बढेको छ ।
राष्ट्र बैंकका अनुसार १० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा नेपालले कुल २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सफल भएको छ । गत आवको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशत घटेको थियो ।
केन्द्रिय बैंकको तथ्याङ्क अनुसार भारत, चीन र अन्य मुलुकतर्फको निर्यातमा निरन्तर बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा भारत तर्फको निर्यात १०४.७ प्रतिशत, चीन तर्फ ५.१ प्रतिशत र अन्य मुलुक तर्फको निर्यात ४.२ प्रतिशत वृद्धि भएको छ ।
समिक्षा अवधिमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात व्यापाक बढेको छ । तर, पाम तेल, जिंक शिट, तयारी पोशाक, जुश, अलैँची लगायतका वस्तुको निर्यातमा भने गिरावट देखिएको छ ।
निर्यातततर्फ जलेश्वर, कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ ।
यता, नेपालको कुल वस्तु आयात पनि दोहोरो अंकमा वृद्धि भएको छ । समिक्षा अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशत भएको छ । विश्वका विभिन्न मुलुकबाट कुल १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात गरेको छ ।
जबकि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशत घटेको थियो । राष्ट्र बैंकका अनुसार छिमेकी मुलुक भारत, चीन लगायतका मुलुकबाट गरिने आयात वृद्धि भएको छ । समिक्षा अवधिमा भारतबाट गरिने आयात ७.९ प्रतिशत घटेको छ । यता, चीनबाट हुने आयात १५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८.३ प्रतिशत वृद्धि भएको छ ।
केन्द्रिय बैंकका अनुसार भटमासको कच्चा तेल, चामल-धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ । तर, पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
आयातततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आयात र निर्यात बढेपनि व्यापार घाटा ६.७ प्रतिशत थप बढेको छ । समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशत कमी आएको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१२२ अर्ब २ करोड बराबरको भएको थियो ।