मोरङ उद्योग व्यापार संघद्वारा सुझाव प्रस्तुत
काठमाडौं। नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि र आर्थिक वर्ष २०८३्/८४ को मौद्रिक नीतिका लागि सुझाव संकलन कार्यक्रममा मोरङ उद्योग व्यापार संघले उद्योगी व्यवसायीहरुको तर्फबाट सुझाव प्रस्तुत गरेको छ ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह र वाणिज्य उपाध्यक्षअनिल साहले कार्यक्रममा उपस्थित नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक सुमन न्यौपानेलाई उक्त सुझावपत्र पेश गरेका थिए।
संघको तर्फबाट सुझावपत्र प्रस्तुतगर्दै वरिष्ठ उपाध्यक्ष साह र उपाध्यक्ष सारडाले विद्यमान अवस्थामा बैंकिङ प्रणालीमा अधिक तरलता र बाह्य क्षेत्र बलियो भएतापनि निजी क्षेत्रको कर्जा विस्तार न्यून रहनुले अझै पनि कतै नकतै नीतिगत गाँठो रहेको महसुस गरिएको बताएका थिए । राष्ट्र बैंकले त्रैमासिक समीक्षाहरुमा देखाएको आंशिक लचकतालाई पूर्णतादिँदै आन्तरिक उत्पादन र निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीतिमा केहि मुख्यबुँदाहरु समेट्नुपर्नेमा जोडदिएका थिए।
सो क्रममा चालू पूँजीकर्जा मार्गदर्शनमा सुधार गर्दै उत्पादनमूलक उद्योगको प्रकृति र नगदप्रवाहको आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालू पूँजीकर्जा सहजै पाउने स्थायी व्यवस्था गरिनुपर्ने र विद्यमान अवस्थामा उद्योग व्यवसायको अस्थिर टर्नओभरलाई ध्यानमा राखी चालू पूँजीकर्जा नवीकरण गर्दा बैंकलाई लचकता अपनाई व्यवसाय संचालनका लागि सहजीकरण गर्न निर्देशन दिन आग्रह गरिएको थियो ।
त्यस्तै, निष्क्रियकर्जा, वर्गीकरण र ऋण पुनर्संरचनाका सन्दर्भमा लगातार दुई वर्ष घाटामा देखिएका उद्योग व्यवसायहरुको ऋण प्रोभिजनिङ गर्दा बूकलसको सट्टा ‘क्यासलस’लाई मात्र मान्यता दिने व्यवस्थालागू गर्नु पर्ने र साँवा–ब्याजतिर्न नसकेका उत्पादनमूलक उद्योगहरुलाई बिना थप जरिवाना कम्तिमा एक वर्षको ऋण पुनर्संरचना र पुनरतालिकीकरण गरिदिनु पर्ने माग राखिएको थियो ।
त्यसका साथै युएस डलरसहित सबै विदेशी मु्रदाहरुको खरिददर र बिक्रीदरको अन्तर बढीमा ने.रु. ०.१५ (भारतीय रुपैयाँ सरह) कायम गरी स्वदेशी उद्योगहरुको लागत खर्च घटाइनु पर्ने तथा भारतीय रुपैयांमा भुक्तानीको तुलनामा अमेरिकी डलरमा भुक्तानी गर्दा भारतीय सरकारी सहुलियतका कारण कतिपय कच्चापदार्थहरुको खरिद मूल्य १० देखि १५ प्रतिशतसम्म सस्तो पर्ने भएकाले त्यस्ता कच्चापदार्थको आयातमा डलरमा भुक्तानी गर्ने व्यवस्था खुला गरिनुपर्ने सुझाव दिइएको थियो ।
त्यसै गरी, हालबैंकहरुको भारित औसत निक्षेप दर र आधार दर न्यून भएतापनि उद्योगहरुले महँगो प्रिमियम तिर्नु परिरहेकोमा उत्पादनमूलक क्षेत्रको कर्जामा आधार दरमा बढीमा २ प्रतिशतमात्र प्रिमियम जोड्न पाउने गरी व्यवस्था गरिनु पर्ने, सूचनाप्रविधि र ई–कमर्स उद्योगको भुक्तानी सहजीकरणका लागि पेपलजस्ता अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्महरु नेपालीउद्योग र नागरिकले प्रयोग गर्न सक्ने व्यवस्था गर्नुपर्ने, गुड फर पेमेन्ट चेक जारीकर्ताको व्याजको भार न्यूनगर्न साविककै बमोजिम भुक्तानी नभएसम्म जारीकर्ताकै खातामा रकम रोक्कामात्र गर्ने व्यवस्था कायम गरिनु पर्ने, बैंकहरुमा पनि श्रमिक सरह वर्षको अधिकतम १३ दिनमात्र विदाहुने व्यवस्था मिलाइनु पर्ने लगायतका सुझावदिनु भई उहाँहरुले बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ती व्यवहारिक र नीतिगत सुझावहरुलाई आगामी मौद्रिक नीतिमा ठोस रुपमा सम्बोधन गरेमा मात्र विद्यमान अवस्थाको शिथिल बजार चलायमान हुने तथा निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्नेमा जोड दिइएको थियो












