सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्यचौकी, म्याग्दीलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ स्थित राखु भगवती स्वास्थ्यचौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि एचडीपीई (एचडिपिई) पाइप सहयोग गरेको छ।
बैंकको बेनी शाखामार्फत हस्तान्तरण गरिएको सहयोगअन्तर्गत अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप प्रदान गरिएको हो।
राखु भगवती स्वास्थ्यचौकीले वडा नम्बर १ र २ का ४ हजार ३०० भन्दा बढी स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। साथै, स्वास्थ्यचौकीमा सञ्चालन भइरहेको २४ घण्टे प्रसूति सेवा केन्द्रले ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
स्थानीय समुदाय, विशेषगरी विपन्न तथा सीमान्तकृत परिवारको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने तथा स्वास्थ्यचौकीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यस सहयोगबाट स्वास्थ्य संस्थाको भौतिक तथा सेवा पूर्वाधार सुदृढ हुने, मातृ तथा शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुने विश्वास गरिएको छ।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएको छ।
सिटिजन्स बैंकले यसअघि पनि डिजिटल बैंकिङ क्षेत्रमा विभिन्न नवीन सेवा विस्तार गर्दै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो। हालै बैंकले युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा ‘क्यूआर टेलर’ सेवा पनि उपलब्ध गराएको छ, जसमार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन्।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभरका ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ३२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।












