पहिलोपटक ‘टीबीसीबी’ मोडलमा चारवटा प्रसारण लाइन अघि बढ्यो, १८ कम्पनीबीच प्रतिस्पर्धा हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र (टीबीसीबी) मोडलमार्फत चारवटा प्रसारण लाइन आयोजना अघि बढाएको छ। यससँगै प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताको नयाँ अभ्यास सुरु भएको छ।
चारवटा आयोजनाका लागि नेपाल, भारत, चीन, अमेरिका लगायतका देशका १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमले आशयपत्र (ईओआई) पेश गरेका छन्। यस प्रक्रियामा नेपाली निजी क्षेत्रका कम्पनी तथा नेपाल–नेतृत्वका कन्सोर्टियमको उल्लेखनीय सहभागिता देखिएको प्राधिकरणले जनाएको छ।
नेपाली सहभागीमध्ये पावर ट्रान्समिसन कम्पनी नेपाल, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, शिव–डाँफे संयुक्त उपक्रम, सिग्मा कन्स्ट्रक्सन तथा हुलास स्टिल इन्डस्ट्रिज, युनिभर्सल–माउन्टेन कन्सोर्टियम नेपाल, बलेफी हाइड्रोपावर, शर्मा एन्ड कम्पनी, लिटमस केबल, जेड इन्फ्रा, प्याराडाइज बिल्डर्स, एप्लाइड इन्जिनियरिङ नेपाल तथा के एन्ड ए ईपीसी लगायतका कम्पनी र कन्सोर्टियम रहेका छन्।
अन्तर्राष्ट्रिय सहभागीमा भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया, अशोका बिल्डकन, टेक्नो–इन्टरप्राइजेज, भिभियाना पावर टेक, रिसोनिया लिमिटेड, मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर्स, टीबीईए तथा चाइना नेशनल मेसिनरी इम्पोर्ट एन्ड एक्सपोर्ट कर्पोरेसन लगायतका कम्पनीले पनि विभिन्न आयोजनाका लागि आशयपत्र बुझाएका छन्।
टीबीसीबी मोडलअन्तर्गत छनोट हुने विकासकर्ताले प्रसारण लाइनको विस्तृत अध्ययन, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी लिनेछन्। तोकिएको सञ्चालन अवधिपछि आयोजना नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिने व्यवस्था छ। कम्पनीको छनोट राष्ट्रियताका आधारमा नभई प्राविधिक क्षमता, वित्तीय व्यवस्थापन, आयोजना कार्यान्वयन क्षमता र प्रतिस्पर्धात्मक प्रसारण सेवा शुल्कका आधारमा गरिनेछ।
प्राधिकरणले अघि बढाएका चार आयोजनामध्ये शीतलपाटी (अरुण हब)–इनरुवा ४०० केभी प्रसारण लाइन करिब ९५ किलोमिटर लामो हुनेछ। यसले अरुण करिडोरका निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् आयोजनाबाट करिब ४,४०० मेगावाट विद्युत् प्रसारण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, तिङ्ला–नयाँ खिम्ती–सुनकोशी हब–ढल्केबर ४०० केभी प्रसारण लाइन करिब १३४ किलोमिटर लामो हुनेछ, जसको वहन क्षमता करिब ४,०८० मेगावाट रहने अनुमान गरिएको छ।
डाँडाखेत–बुर्तिबाङ १३२ केभी प्रसारण लाइन करिब ३३ किलोमिटर लामो हुने र करिब २५० मेगावाट विद्युत् वहन गर्नेछ। रिडी–तम्घास १३२ केभी प्रसारण लाइन करिब २८ किलोमिटर लामो हुने तथा करिब २२५ मेगावाट वहन क्षमता रहने प्राधिकरणले जनाएको छ।
आशयपत्र दर्ताको हिसाबले रिडी–तम्घास आयोजनामा सबैभन्दा धेरै १४ वटा प्रस्ताव परेका छन्। डाँडाखेत–बुर्तिबाङमा १२, शीतलपाटी–इनरुवामा ९ तथा तिङ्ला–नयाँ खिम्ती–सुनकोशी हब–ढल्केबर आयोजनामा ७ वटा प्रस्ताव दर्ता भएका छन्।
अब आशयपत्रहरूको प्राविधिक तथा वित्तीय मूल्यांकन गरिनेछ। मूल्यांकनबाट छनोट भएका कम्पनी तथा कन्सोर्टियमलाई प्रस्ताव आह्वान प्रक्रियामा सहभागी गराइनेछ भने अन्तिम छनोट प्रतिस्पर्धात्मक वार्षिक प्रसारण सेवा शुल्कका आधारमा गरिने प्राधिकरणले जनाएको छ।













