वण्डर्स इनर्जीले ३० करोडको आईपीओ जारी गर्ने, खिम्ती–ध्वाँङ जलविद्युत आयोजना २०८४ चैतभित्र सक्ने लक्ष्य « Arthapath.com
१४ असार २०८३, आइतबार

वण्डर्स इनर्जीले ३० करोडको आईपीओ जारी गर्ने, खिम्ती–ध्वाँङ जलविद्युत आयोजना २०८४ चैतभित्र सक्ने लक्ष्य



रामेछाप र दोलखाको सिमानामा निर्माणाधीन ९ मेगावाटको खिम्ती-ध्वाँङ जलविद्युत आयोजनाले आगामी २०८४ चैतभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित वित्तीय व्यवस्थापन र सरकारी प्रक्रियालाई अन्तिम रूप दिएको छ।

काठमाडौँ । रामेछाप र दोलखाको सिमानामा निर्माण भइरहेको खिम्ती-ध्वाँङ साना जलविद्युत आयोजनाको निर्माण कार्य आगामी २०८४ सालको चैत महिनाभित्र सम्पन्न गर्ने गरी तीव्रता दिइएको छ।

आयोजनाको प्रवर्द्धक कम्पनी वण्डर्स इनर्जी प्रालिको वार्षिक साधारणसभाले आयोजनाको निर्माण अवधि र वित्तीय व्यवस्थापनका महत्त्वपूर्ण निर्णयहरू पारित गरेको हो।

लामो समयदेखि पर्खाइमा रहेको सरकारी जग्गा प्राप्ति र रुख कटानको उल्झन सुल्झिएसँगै आयोजना निर्माणले गति लिएको छ। गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाका लागि आवश्यक सरकारी जग्गा उपलब्ध गराउने र रुख कटान गर्ने अनुमति दिने निर्णय गरेपछि निर्माण कार्यको बाटो खुलेको कम्पनीले जनाएको छ।

कुल १ अर्ब ९० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको यस आयोजनाका लागि वित्तीय स्रोत जुटाउने काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाका लागि आवश्यक पर्ने रकममध्ये १ अर्ब २५ करोड (१२५ करोड) रुपैयाँ ऋण लगानी गर्न एनएमबी बैंकसँगको समझदारी अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले बताए। साधारणसभाले बैंकबाट ऋण लिनका लागि कम्पनीको संचालक समितिलाई पूर्ण अख्तियार दिने निर्णय समेत गरेको छ।

आयोजनाका लागि आवश्यक बाँकी ६५ करोड रुपैयाँमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी ३० करोड रुपैयाँ आगामी असोज महिनाभित्र संकलन गरिसक्ने गरी काम भइरहेको दुलालले जानकारी दिए।

वार्षिक साधारणसभाले कम्पनीको कुल पुँजी वृद्धि गरेर १ अर्ब (१०० करोड) रुपैयाँ पुर्‍याउने विशेष प्रस्ताव पारित गरेको छ। जस अन्तर्गत ७० करोड रुपैयाँ संस्थापकहरूको स्वपुँजी (इक्विटी) रहनेछ भने बाँकी ३० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिने निर्णय कम्पनीले गरेको छ।


प्रतिक्रिया दिनुहोस्