आगामी चैतमा ‘पावर समिट’ हुँदै : विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशत हुने अपेक्षा
काठमाडौं । आगामी चैत १४ र १५ गते आठौं संस्करणको ‘पावर समिट २०२३’ आयोजना हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले ‘हरित उर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौंको हायात रिजेन्सीमा आयोजना हुन लागेको हो ।
पावर समिटलाई नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सरक्षणकत्व प्रदान गरेको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् ।
नेपालमा आयोजना हुने यो सबैभन्दा ठूलो ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलखीत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, पिंक ट्याइहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८ सय जना सहभागी हुने बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहने छ भने प्रमुख प्रायोजकहरूमा विश्व बैंक, आईएफसी, एफएमओ, युएसएआईडी लगायतका विकास साझेदारहरू रहेका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का अध्यक्ष पत्रकार सम्मेलनमा भने,–‘ हामीले सन् २००६ मा पहिलो पावर समिट आयोजना गरेका थियौं। यसले मुलुकमा विद्यत उत्पादनको लागि अनुकुल बाताबरण सिर्जना गर्न ठूलो योगदान गर्यो । फलस्वरुप आज विद्युत ऊर्जा देश आत्मनिर्भर बन्ने चरणमा प्रवेश गरेको छ । हालै सोलु–दुधकोशी जलविद्युत आयोजनाबाट ८६ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २५२० मेगावाट पुगेको छ ।’
उनका अनुसार यो वर्ष अरु करिब ६०० मेगावाट प्रणालीमा थपिने र सन २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा गरिएको बताए ।
अध्यक्ष आचार्यले भने,–‘विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अनुमान गरिएको छ । सन २०२२ मा हाम्रो विद्युतको उच्चतम माग करिव १७०० मेगावाट मात्र थियो । यो तथ्यले अबको वर्षा याममा करिव १००० मेगावाट विद्युत बचत हुने देखिएको छ । यसैले आजको हाम्रो समय भनेको हरित ऊर्जाको बजारका पक्षहरूमा ध्यान केन्द्रित गर्ने उपयुक्त र सही समय हो ।’
पावर समिट २०२३ हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सन्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान–प्रदान गर्ने ठूलो अवसर हुने उनको भनाई थियो ।
उनले भने,–‘यो प्लेटफर्मले व्यापारिक र व्यवसायिक सम्बन्त्रलाई प्रगाढ बनाउने, विद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ भने ऊर्जाको व्यापार गर्ने अवसर मिल्नेछ।’
पत्रकार सम्मेलनमा उत्पादित ऊर्जाको लागि अब मागलाई तीव्र बनाउनु पर्ने अवस्थाको सिर्जना भएको बताइएको थियो । इपानले भन्यो,–‘पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्णरूपान्तरण गर्नु भनेको नेपाली अर्थतन्त्रलाई वास्तविकरुपमा आत्मनिर्भर बनाउनु हो । पछिल्लो दशकमा नेपालमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको छ । उत्पादित ऊर्जाको लागि अब मागलाई तीव्र बनाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । यसका लागि हामीले आन्तरिक खपत र बाह्य विद्युत व्यापारमा ध्यान केन्द्रित गर्न जरुरी छ । यसले मात्र हरित ऊर्जाको बजार फराकिलो बन्न सक्छ ।’
हरित ऊर्जाको आपूर्ती र मागका सम्बन्धमा धनीभूत बहस हुन आवश्यक रहेको इपानका उपाध्यक्ष आशिस गर्गले बताए । उनले भने,–‘हामी हाम्रो हरित ऊर्जा लिएर बजार जान तयारी अवस्थामा छौ। हरित ऊर्जा बजारलाई फराकिलो बनाउनु भनेको यातायात, कृषि, उद्योग, खाना पकाउने र वाणिज्य लगायतका बहुआयामिक क्षेत्रमा द्रुत गतिमा विकास गर्न सक्षम पार्नु हो ।’
नेपाल अर्थतन्त्रलाई वास्तविक रुपमा आत्मनिर्भर बनाउनका लागि पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्णरूपान्तरण गर्न आवश्यक रहेको बताइएको छ ।
पावर समिटमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने आयोजकले अपेक्षा गरेको छ ।
पावर समिटमा ऊर्जा क्षेत्रका विशेषज्ञहरूद्वारा छलफल, प्रवचन र बहसको लागि टेक्निकल सेसन संचालन हुनेछ । सेसन नेपालको ऊर्जा विकासको यात्रामा सहभागी हुन चाहने जो कोहीलाई अन्यन्तै फलदायी हुने आयोजकले जनाएको छ । टेक्निकल सेसनमा सीईओ फोरम, ईएसजी अभ्यासहरूसहित कार्यशालाहरू र साइडलाइन इभेन्ट संचालन हुने बताइएको छ ।
‘आज हामीले जलवायु परिवर्तनको प्रभावका कारण नेपाल अति जोखिममा रहेको देशको सूचीमा परेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । वायुमण्डलमा अत्यधिक हरितगृह ग्यासहरूका कारण सारा विश्वले प्रभाव र बढ्दो लागतको अनुभव गरिरहेको छ । नेपालले सन् २०४५ सम्ममा नेट शून्य राष्ट्र बन्ने प्रतिबद्धता जनाएको छ । यसको ठूलो हिस्सा हाम्रो अर्थतन्त्रबाट हरित ऊर्जा उत्पादन र प्रयोग गर्न र पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सक्षम हुनु हो ।’–इपानले उल्लेख गरेको छ ।
पावर समिटमा नेपालको विद्युतको बजार प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी विभिन्न सत्रहरु संचालन गरिने आयोजकले जनाएको छ । पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र उर्जा सुरक्षा लगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रको तर्फबाट ५ हजार मेगावाटको परियोजनाहरु प्रदर्शन गरिनेछ ।













