माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २५ गतेदेखि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख रुपैयाँभन्दा माथिको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।
यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।













