लगानीको अवसरः माई खोला हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी वैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीको जारी पूँजी ९ करोड २१ लाख ५८ हजार ८०० रुपैयाँको ४९ प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा विक्री गर्न अनुमति धितोपत्र बोर्ड पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँट गरिसकिएको छ भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ ।
अब सर्वसाधारणका लागि बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउँदै छ ।
उक्त आईपीओमा छिटोमा वैशाख १२ गते र ढिलोमा वैशाख १४ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













