व्यवसाय सुधारमा आक्रामक बन्यो कृषि विकास बैंक, ३०८ प्रतिशतले बढायो नाफा
काठमाडौं । कृषि विकास बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । बैंक पछिल्लो समयमा व्यवसायमा विस्तारमा आक्रामक देखिएको छ ।
बैंकले एक महिनामा ३०८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
बैंकले चालु आवको आठ महिनामा ४१ करोड १२ लाख ९० हजार रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत माघ महिनाको तुलनामा भने ३१ करोड ६ लाख ७० हजार रुपैयाँले बढी हो ।
बैंक चालु आवको दोस्रो त्रैमास अर्थात गत पुस मसान्तसम्ममा भने नोक्सानीमा देखिएको छ । गत पुस मसान्तसम्ममा बैंक १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । माघ महिनामा मात्रै बैंकले २२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । हाल कृषि विकास बैंकको पुँजी कोष ३३ अर्ब १९ करोड ७१ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी भने १८ अर्ब ६२ करोड ६ लाख ३० हजार रुपैयाँ बढी रहेको छ ।
गत पुस मसान्तसम्ममा बैंकको खराब कर्जा उच्च भएपछि नोक्सानी व्योहोर्नु परेको थियो । दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत पुगेको थियो । बैंक तथा वित्तीय संस्थको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्दा त्यसलाई जोखिममुक्त मानिन्छ । तर, पछिल्लो समय बैंकले सुधार गरेको छ । बैंकले खराब कर्जा संकलन बढाएको छ, खुद ब्याज आम्दानी वृद्धि भएको छ । जसले नाफा बढ्न टेवा पुगेको हो ।













