१६ हजार ७४० जनाले पाउने सिटि होटलको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओ प्रिअलटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार (बैशाख ८ गते) प्रिअलटमेन्ट सम्पन्न भएको र बैशाख १२ गते बाँडफाँटको तयारी गरिरहेको जनाएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ५ करोड ७४ लाख १५ हजार रुपैयाँको आवेदन परेको थियो । बैदेशिक रोजगारीमा गएका १९ हजार ९०३ जना आवेदकले ५ लाख ७४ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा १६ हजार ७४० जनाले १० कित्ता सेयर पाउनेछन् ।
कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।
सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन बिक्री खुला गरेको थियो।













