१९ श्रावण २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य र नेपाल बैंक मर्जरः कस्तो होला नेपाली बैंकिङ्ग बजारमा पफमेन्स ? मुख्य सूचकहरुलाई दाँजेर हेर्दा



काठमाडौं । नेपाली बैंकिङ्ग बजारमा मर्जरको लहरले बैंकहरुको संख्या घट्दैछ । हाल नेपालमा २१ वटा वाणिज्य बैंक संचालनमा छन् ।

निजी क्षेत्रबाट संचालन भईरहेको बैंकहरु धमाधम मर्जरमा गएका छन् । चालु आवमा मात्रै ६ वटा बैंकहरु एक आपसमा मर्जभई तीन वटा बनेका छन् ।

चालु आवमै एनसीसी–कुमारी, प्रभु–सेञ्चुरी, ग्लोलब आएमई–बिओके, नेपाल इन्भेष्टमेन्ट– मेगा र हिमालयन–सिभिल मर्जर तथा प्राप्तिमा भई एकीकृत कारोबार गरेका छन् । यता, सनराइज र लक्ष्मी बैंक मर्जरकै प्रक्रियामा छन् ।

बैंकहरुमा आएको मर्जरको लहरले बैंकहरु बलियो बन्दै गएका छन् । उनीको व्यवासायिक प्रतिस्पर्धा पनि बढेको छ । निजी बैंकहरुले मर्ज मार्फत पुँजी बढाएर व्यवसायीक क्षमता समेत बढाएका छन् । तर, सरकारी बैंकहरु भने तोकिएको न्यूनतम चुक्ता पूँजीमै सञ्चालित छन् । यही कारण पनि अब सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा लानु पर्ने दबाब पनि बढेको छ ।

पछिल्लो समय सरकारी दुई बैंक पनि मर्जरको व्यापाक रुपमा छलफल गरिरहेका छन् । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबीच पनि मर्जका लागि गहिराईमै छलफल अघि बढेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा सरकारी बैंकहरु पनि मर्जरमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । गत माघ १० गते राष्ट्रिष्य वाणिज्य बैंकको वार्षिकोत्सवको कार्यक्रममै गभर्नर अधिकारीले पछिल्लो समयमा निजी क्षेत्रका बैंकहरुको मर्जरको लहर चलिरहेको र बैंकहरुको व्यावसायिक आकार बढीरहेको भन्दै सरकारी बैंकहरुलाई पनि मर्जरमा जान सुझाव दिएका थिए । उनले भनेका थिए,–‘आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि एक आपसमा कुरा गर्न सक्नेछन् ।’

यद्यपि, यी सरकारी दुई बैंकको मर्जरको विषयमा नियामक निकाय नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्रालयमा छलफल भईरहेको थियो । केही दिन अघि मात्रै दुई बैंक एक आपसमा मर्जरमा जानका लािग अर्थमन्त्रालयले अध्ययन कार्यदल समेत गठन गरिसकेको छ । मन्त्रालयले सरकारी दुई बैंकको मर्जर सम्वन्धी अध्ययन विश्लेषण वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको हो ।

सरकारी दुई बैंक मर्ज भएको खण्डमा भने निजी क्षेत्रका ठुला बैंकसंग चर्को व्यवसायिक प्रतिस्पर्धा हुनेछ । चुक्ता पुँजी, सम्पत्ति, जगेडा कोष, निक्षेप र कर्जा लगानीका आधारमा बलियो मानिने ग्लोलब आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट र एनआईसीसंगै सरकारी बैंकको प्रतिस्पर्धा हुने देखिन्छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक मर्ज भएपछि यसका मुख्य वित्तीय सूचकहरु पनि बढ्ने छन् ।

अब हेरौं राष्ट्रिय वाणिज्य र नेपाल बैंक मर्जर भएपछि कुन सूचक कस्तो हुन्छ ? जुन, बैंकहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित छन् ।

चुक्ता पुँजी ३० अर्ब नाघ्ने, मर्जपछि तेस्रो पोजिशन

चुक्ता पुँजीको आधारमा पनि राष्ट्रिय वाणिज्य बैंकको धेरै । राष्ट्रिय वाणिज्य बैंक १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ । यता, नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ छ । यी दुवै बैंक मर्जपछि ३० अर्ब ३३ करोड १३ लाख ९९ हजार रुपैयाँ बढी हुनेछ । हाल चुक्ता पुँजीको आधारमा ग्लोलब आइएमई बैंक अगाडि छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दोस्रो छ । यी दुई सरकारी बैंक मर्जपछि भने तेस्रो पोजिशनमा रहनेछ ।

जगेडा कोषमा सबैभन्दा बलियो बन्ने

आरविवि र नेपाल बैंक मर्जजपछि भने हाल संचालनमा रहेका मध्ये सबैभन्दा धेरै जगेडा कोष भएको बैंक बन्नेछ । हाल आरविविको जेगडा कोषमा १७ अर्ब १९ करोड १ लाख रुपैयाँ छ । नेपालप बैंकको जगेडा कोषमा भने २० अर्ब ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ । यी दुई बैंक मर्जपछि भने जगेडा कोषको आकार ३७ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । हाल अन्य बैंकहरुको जगेडा कोषको आकार २५ अर्ब मात्रै छ ।

सम्पत्ति ६ खर्ब माथि, बन्ने सबैभन्दा धनी बैंक

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक मर्जपछि सबैभन्दा धनी बैंक बन्ने देखिएको छ । यो बैंकहरुको कुल सम्पत्तिको आधारमा हो ।
मर्जपछिको बैंकको कुल सम्पत्ति ६ खर्ब २७ अर्ब ६० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल राष्ट्रिय वाणिज्य बैंकको कुल सम्पत्ति ३ खर्ब ४८ अर्ब ८३ करोड बढी छ भने नेपाल बैंकको २ खर्ब ७८ अर्ब ७६ करोड बढी छ । यता, निजी क्षेत्रका बैंकहरुको कुल सम्पत्ति ५ खर्ब बढी छ । बिओकेलाई प्राप्तिपछि ग्लबोलले आफ्नो कुल सम्पत्ति ५ खर्ब नघाएको हो ।

खुद नाफामा पनि उच्च

चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा आर्जन ३ अर्ब ५७ करोड ६७ लाख ७४ हजार रुपैयाँ छ । नेपाल बैंकको १ अर्ब ७८ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको छ । सोही आधारमा मर्जपछि बन्ने बैंकको खुद नाफा ५ अर्ब ३५ करोड माथि हुनेछ । यसका आधारमा अन्य बैंकको तुलनामा मर्जपछि हुने बैंकलाई नाफामा अघि हुने देखिएको छ ।

खुद ब्याज आम्दानी र संचालन नाफा पनि बढ्ने

मर्जपछि बन्ने नयाँ बैंकको खुद ब्याज आम्दानी पनि बढ्ने छ । सरकारी दुई बैंक मर्जपछिको खुद ब्याज आम्दानी १५ खर्ब ९९ करोड बढी हुनेछ । तेस्रो त्रैमासिक वित्तीय रिपोर्टअनुसार हाल राष्ट्रिय वाणिज्य बैंकको ब्याज आम्दानी ९ अर्ब ४९ करोड ८८ लाख बढी छ भने नेपाल बैंकको ६ अर्ब ४९ करोड ११ लाख बढी छ ।

यता, यी दुवै बैंक मर्जपछि संचालन नाफा पनि बलियो हुने देखिएको छ । हाल राष्ट्रिय वाणिज्य बैंकको यस्तो नाफा ५ अर्ब ६ करोड ४९ लाख बढी छ । यता, नेपाल बैंकको भने २ अर्ब २२ करोड १६ लाख १७ हजार रुपैयाँ छ । तर, मर्जपछि भने बैंकको ७ अर्ब २८ करोड ६६ लाख बढी पुग्नेछ ।

वितरणयोग्य नाफा साढे २ अर्ब

सकारी यी दुई मर्जपछि वितरणयोग्य नाफा पनि बढ्ने छ । हाल राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा २ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ र नेपाल बैंकको १८ करोड ७ लाख रुपैयाँ छ । गत आवको समिक्षा तुलनामा भने नेपाल बैंकको वितरणयोग्य नाफामा ९३ प्रतिशतको गिरावट देखिएको छ ।

प्रतिसेयर आम्दानीमा हालको अवस्था

प्रतिसेयर आम्दानीमा पनि राष्ट्रिय वाणिज्य बैंकको धेरै छ । राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५० पैसा छ । यता, नेपाल बैंकको १६ रुपैयाँ १७ पैसा छ ।

निक्षेप संकलन र कर्जा लगानीमा नम्बर वान

हाल राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन ३ खर्ब २ अर्ब ९३ करोड २५ लाख बढी छ । नेपाल बैंकको भने २ खर्ब २९ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ बढी छ । मर्जपछि भने ५ खर्ब ३२ अर्ब २६ करोड बढी पुग्नेछ ।

यता, कर्जा लगानी पनि ४ खर्ब बढी हुनेछ । तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आरविविको कर्जा लगानी २ खर्ब ४१ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ छ । नेपाल बैंकको १ खर्ब ७९ अर्ब ४९ करोड १२ लाख बढी छ।

खराब कर्जाको स्थिति

नेपाल बैंकको खराब धेरै देखिएको छ । तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आरविविको खराब कर्जा ३.८८ प्रतिशत छ । नेपाल बैंकको ४.१६ प्रतिशत छ ।