८ श्रावण २०८३, शुक्रबार

स्मार्ट फोनको आयातमा रोकिएन उछाल, १० महिनामा २५ अर्बभन्दा धेरैको फोन भित्रियो



काठमाडौँ । कुल आयातमा स्मार्ट फोनको हिस्सा निकै ठूलो छ । यसबीच हरेक महिना औसत १ लाख ५३ हजार गोटाका दरले स्मार्टफोन आयात भएको देखिन्छ । १० महिनामा १५ लाख २९ हजार गोटा फोन आयात गर्न नेपालले २४ अर्ब रुपैयाँभन्दा धेरै विदेश पठाएको छ ।

नेपालले मूलतः चीनबाट स्मार्टफोनहरु खरीद गर्छ । भन्सारको तथ्यांकले विगत १० महिनामा नेपालमा आयात भएको स्मार्टफोनमध्ये ७२ प्रतिशत चीनबाट आयात भएको देखाएको छ । बाँकी २८ प्रतिशत स्मार्टफोन भारतबाट आयात हुन्छ ।

अमेरिका, जापान, युएई, भियतनाम, कोरिया, अस्ट्रेलिया, कतार, कुवेत, बेलायत, साउदी अरबजस्ता थुप्रै देशबाट फोन आयात भएको देखिए पनि ती फोनहरु विदेशबाट नेपाल पर्किनेहरुले ल्याएको देखिन्छ । यिनीहरुको हिस्सा नगन्य छ ।

यस तथ्यांकले अर्को रोचक आँकडा पस्केको चाहीँ मूल्यमा हो । चीनबाट आयात हुने स्मार्ट फोनको मूल्य भारतबाट आयात हुने मूल्यको तुलनामा निकै सस्तो देखिएको छ । चीनबाट प्रतिगोटा औसत १४ हजार ५ सय र भारतबाट प्रतिगोटा औसत १८ हजार २ सय मूल्यमा फोन आयात भएको देखिन्छ ।

जबकी, बजारमा उपलब्ध महँगा ब्राण्डका फोनहरु चीनबाट आयात हुन्छ । आइफोन, वान प्लस, सामसुङ, साओमी, ओपोजस्ता महँगा फोन चीनबाटै आयात हुन्छ । तै पनि भारतभन्दा निकै सस्तो दाममा फोन आयात भएको तथ्यांकले न्यूनबिजकीकरणको सन्देश उत्पन्न हुनसक्छ ।

भन्सारको तथ्यांक अनुसार नेपाली बजारमा आयात भएका स्मार्टफोनको औसत मूल्य १५ हजार ७ सय रुपैयाँ रहेको छ । त्यसमा प्रतिगोटा औसत २९०० रुपैयाँ सरकारले राजस्व लिएको देखिन्छ । यसरी भन्सारबाट छुट्दा एउटा फोनको औसत मूल्य १८ हजार ६ सय पुगेको देखिन्छ । सरकारले स्मार्ट फोनको आयातबाट ४ अर्ब ४७ करोड राजस्व उठाएको छ ।

यसबाहेक ७ करोड ६६ लाख मूल्य तिरेर २२ हजार ६०० थान अन्य मोबाइल फोनहरु आयात भएका छन् । बारफोन भनिने ‘की–प्याड’वाला मोबाइल पनि उच्च मात्रामा आयात भएको देखिन्छ । यो १० महिनामा १४ लाख ५३ हजार ५०० वटा यस्ता मोबाइल फोन सेट आयात भएको भन्सारको तथ्यांकमा छ ।

यस्ता बारफोनको औसत मूल्य प्रतिगोटा ७८६ रुपैयाँ पर्ने र भन्सार राजस्वसमेत तिर्दा प्रतिगोटा मूल्य ९३३ रुपैयाँ पुग्ने गरेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्