करको दायरा विस्तार हुँदै, ६० लाख ४८ हजार नाघ्यो स्थायी प्यान लिनेको संख्या
काठमाडौं । करको दायरा विस्तार हुँदै गएको देखिएको छ । स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या साढे ६० लाख पुगेको छ ।
सरकारले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ का आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाता कुल संख्या ६० लाख ४८ हजार ८८९ पुगेको छ । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाता ६७.१ प्रतिशत छ ।
यस्तै, व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाता ३२.४ प्रतिशत रहेका छन् । साथै करकट्टी गर्ने निकायले लिएको लेखा नम्बर ०.५ प्रतिशत रहेको छ ।
गत फागुन मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता करदाता ३ लाख २६ हजार ८४३ र अन्तःशुल्कमा १ लाख २३ हजार ५८६ पुगेको छ ।














