७ श्रावण २०८३, बिहिबार

एक वर्षमा थपिए ७ लाख ३० हजार करदाता



काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा ७ लाख ३० हजारभन्दा बढी व्यक्ति तथा संस्था करको दायर थपिएको तथ्यांक सरकारको सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले स्थायी लेखा नम्बर, मूल्य अभिबृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दर्ता भएका करदाताहरुको आँकडा बढेको देखाएको हो ।

उक्त आँकडाले करीब ३ वर्षअघि २०७८ असार मसान्तमा नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरुको कुल संख्या ४० लाख ६६ हजार भएकोमा अहिले बढेर ६० लाख ४५ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । यो तीन वर्षमा उद्योगधन्दा र व्यवसायभन्दा व्यक्तिले बढी प्यान लिएको देखिएको हो ।

तीन वर्ष पहिले कुल प्यानमा व्यक्तिगत प्यानको हिस्सा ६० प्रतिशत रहेको थियो । गत फागुन मसान्तसम्म यो अनुपात बढेर ६७ प्रतिशत नाघेको छ ।

यद्यपि, व्यावसायिक विस्तारमा भने खासै ठूलो फड्को मार्न नसकेको देखिन्छ । हालसम्म नेपालमा जम्मा ३ लाख २६ हजार ८४३ कम्पनी, फर्म वा संस्थाहरु भ्याटमा दर्ता भएका छन् । पछिल्लो एक वर्षमा भ्याटमा दर्ता हुनेको संख्या जम्मा १९ हजारले बढेको छ ।

जबकी, यही एक वर्षमा व्यक्तिगत प्यान लिनेहरुको संख्या ६ लाख ७ हजारभन्दा धेरै बढेको छ । यही कारण अर्थमन्त्रालयले ‘करको दायरा बढ्दै गएको’ भनेर आफ्नो आर्थिक समीक्षा प्रतिवेदनमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्