जनप्रतिनिधिलाई १ लाख १० हजारको साडी
नुवाकोट । पञ्चकन्या गाउँपालिकाले पालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका लागि महिला जनप्रतिनिधिहरुलाई १ लाख १० हजार रुपैयाँ मूल्यको पोशाक खरिद गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
पालिकाको नवनिर्मित भवन उदघाटन कार्यक्रममा कार्यपालिकाको निर्णय बमोजिम एउटै पोशाक समाउने परिपाटि कायम राख्न भन्दै ११ जना महिला जनप्रतिनिधिहरुलाई १० हजार रुपैयाँ दरले ढाकाको तयारी साडी तथा चोलो खरिद गरेको हो ।
उक्त सामग्री नुवाकोट हस्तकला ढाका उद्योगबाट खरिद गरी हस्तान्तरण गरेको देखिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा खर्चमा मितव्ययिता कायम गर्नुपर्ने र भुक्तानीमा रीत पुगे नपुगेको जाँच गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले यस प्रकारको खर्चमा नियन्त्रण गर्नुको साटो थप व्ययभार पारेको देखिएको हो ।













