सेबोन अध्यक्ष नियुक्तिको विषयमा महान्यायाधिवक्ताको कार्यालयले के दियो राय ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिको विषयमा महान्यायाधिवत्ताको कार्यालय आफ्नो लिखित राय अर्थमन्त्रालयमा पठाएको छ । सोमबार नै राय पत्र प्राप्तगरेपछि अर्थमन्त्रालय छलफलमा जुटिरहेको छ ।
कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भन्दै सुझाव दिएको हो । कानुनी व्यवस्था अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । सोही अनुसार नै दुई जनाको मात्र नाम सिफारिस गर्नु कानुनतः नभएको भन्दै कार्यालयले राय पेश गरेको स्रोतको भनाई छ।
असार २ गते आइतबार अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले शर्टलिस्टमा परेका ५ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाइएको थियो । तर, त्यती बेला २ जना मात्रै उपस्थित भएका थिए । बाँकी ३ जनालाई भने गत असार ५ गते बुधबारका लागि बोलाइएको थियो । तर, तीनै जना प्रतिस्पधी उपस्थित नै भएनन् । त्यसपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको सिफारिस समितिले बोर्ड अध्यक्ष प्रक्रिया कसरी अघि बढाउने भनेर महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेको थियो । सोही अनुसार महान्यायाधिवक्ताको कार्यालयले भने कानुनमा दुई जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने भन्दै र छनौट समितिले नै निर्णय गर्न उपयुक्त हुने राय दिएको छ ।
सेबोन अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये बोर्डले ५ जनाको जना शर्टलिस्ट गरेको थियो । शर्तलिस्टमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम परेका थिए ।













