१२ श्रावण २०८३, मंगलबार

वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना निलम्बनमा



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँच जनालाई तत्कालका लागि काम गर्न रोक लगाएको छ ।

उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको भन्दै प्राधिकरणले निगमको ‘एकाउन्टेबल म्यानेजर’ रहेका कार्यकारी अध्यक्ष अधिकारीलाई अर्को निर्णय नभएसम्मका लागि काम गर्नबाट रोक लगाएको हो । प्राधिकरणले वाइड बडी जहाज उडाएर लाने क्याप्टेनहरू महेश्वरमान डंडोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई अर्को निर्णय नभएसम्म निलम्बन गरेको छ ।

प्राधिकरणका अनुसार निगमले आफूसँग रहेका दुईवटा ‘वाइड बडी’ जहाजमध्ये ‘ए३३०–२००’ सिरिजको दर्ता नम्बर ‘ (एन–एएलवाई) जहाज नियमित मर्मत (सी–चेक) गर्न विनाअनुमति युरोपको इटाली लगेपछि एकाउन्टेबल म्यानेजर अधिकारीलाई कारबाही स्वरूप काम गर्न रोकिएको हो ।

प्राधिकरणका अनुसार वायसेवा कम्पनीहरूले जहाज मर्मत गर्न लैजाने विदेशका कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिएको हुनुपर्ने प्रावधान छ ।

तर, प्राधिकरणबाट अनुमति नै नपाएको इटालीको एटिटेक भन्ने जहाज मर्मत कम्पनीमा निगमले आफ्नो वाइड बडी जहाज मर्मत गर्न लगेको छ ।