१ मंसिर २०८३, मंगलबार

युवराज विष्ट बने यती एयरलाइन्सका नयाँ प्रमुख कार्यकारी अधिकृत



काठमाडाैँ । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले आफ्नो नेतृत्वमा फेरबदल गरेको छ। कम्पनीको सर्वोच्च कार्यकारी पद अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी युवराज विष्टलाई दिइएको छ। विगतमा एयरलाइन्सको कमान सम्हाल्दै आएका सुवास सापकोटाको तीन वर्ष एक महिना लामो कार्यकाल पूरा भएपछि व्यवस्थापनले नयाँ नेतृत्वको चयन गरेको हो।

यसअघि साेनाम शेर्पाकाे परिवार अर्थात् यति ग्रुपकाे एकाधिकार रहेकाे उक्त एयरलाइन्समा एसियन लाइफ इन्स्याेरेन्सले सबैभन्दा ठूलाे हिस्सेदारी खरीद गरेर सापकाेटालाइ व्यवस्थापकीय नेतृत्व गर्न पठाएकाे थियाे ।

नवनियुक्त सीईओ विष्ट यती एयरलाइन्सका लागि नौलो अनुहार होइनन्। उनी लामो समयदेखि यही कम्पनीसँग आबद्ध रहँदै आएका छन्। एयरलाइन्सको आन्तरिक कार्यशैली, उडान सञ्चालन र व्यवस्थापकीय पक्षका हरेक पाटोमा उनको गहिरो पकड छ।

कम्पनीभित्रै विभिन्न उत्तरदायित्वहरू सफलतापूर्वक निर्वाह गर्दै आएका अनुभवी अधिकारीलाई नै शीर्ष नेतृत्वमा ल्याइएपछि संस्थागत निरन्तरता र कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यती एयरलाइन्सको नेतृत्वबाट बाहिरिएका पूर्वसीईओ सापकोटाले आफ्नो कार्यकालमा कम्पनीको वित्तीय स्वास्थ्य सुधारलाई मुख्य केन्द्रबिन्दु बनाएका थिए। पेसागत रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका सापकोटाले विशेषगरी कम्पनीको सञ्चालन लागत घटाउने र अनावश्यक प्रशासनिक खर्चमा कटौती गर्ने मामिलामा कडा निर्णयहरू लिएका थिए।

कठिन आर्थिक परिस्थिति र बजारका चूनौतीहरूका बाबजुद उनले यतीको वित्तीय व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका थिए।

हाल यती एयरलाइन्स आफ्नो संस्थागत संरचनामा ऐतिहासिक परिवर्तनको दोसाँधमा उभिएको छ। निजी स्वरूपको यो कम्पनीलाई अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। यही जटिल र संवेदनशील चरणमा आएका विष्टकासामू संस्थागत सुशासन कायम राख्ने, सेवाको दायरालाई अझै फराकिलो बनाउने र उडान सुरक्षालाई सर्वोपरि राख्दै व्यावसायिक दक्षता बढाउने मुख्य जिम्मेवारी छ।

बजारमा प्रतिस्पर्धा बढिरहेको वर्तमान अवस्थामा आन्तरिक व्यवस्थापनको लामो अनुभव सँगालेका विष्टको नेतृत्वले यती एयरलाइन्सको सेवालाई थप गुणस्तरीय बनाउँदै आगामी दिनमा कसरी अघि बढाउँछ भन्ने विषयलाई अहिले समग्र उड्डयन क्षेत्रले चासोका साथ हेरिरहेको छ।