वायुसेवा निगमले ऋण नतिर्दा नागरिक लगानी कोष र कर्मचारी संचय कोष संकटमा
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि सरकारको जमानीमा लिएको ५० अर्ब रुपैयाँभन्दा बढी ऋणको किस्ता समयमै नतिर्दा लगानीकर्ता संस्थाहरू संकटमा पर्न थालेका छन्।
ऋण लगानीकर्ता नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी संचय कोषका बचतकर्ताको रकम जोखिममा पर्न थालेको भन्दै नागरिक लगानी कोषले कर्जा असुलीमा ठोस सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेको छ।
संसद्को अर्थ समितिको बैठकमा बोल्दै कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले कोषको एकल प्रयासले मात्र निगमबाट कर्जा असुली गर्न सम्भव नदेखिएकाले सरकारी तहबाट विशेष पहल आवश्यक रहेको बताए। निगमको कमजोर वित्तीय अवस्थाका कारण ठूलो साँवा भुक्तानी हुन नसकेको र त्यसको ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने अवस्था आइसकेको उनको भनाइ छ।
अर्थ मन्त्रालयसँग निरन्तर समन्वय भइरहे पनि नतिजा देखिने गरी सरकारी तहबाट थप पहल र सहजीकरण नभए बचतकर्ताको रकम डुब्ने स्थिति आउन सक्ने संकेत कार्कीले गरे ।
‘नागरिक पेन्सन योजना’ मा कर सहुलियतको माग
बैठकमा कार्यकारी निर्देशक कार्कीले दीर्घकालीन सामाजिक सुरक्षाको महत्त्वपूर्ण माध्यम मानिएको ‘नागरिक पेन्सन योजना’ मा करसम्बन्धी व्यवस्था स्पष्ट र सहुलियतपूर्ण बनाउनुपर्नेमा पनि जोड दिए । रोजगारीमा नरहेका, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई यस योजनामा समेट्न सके भविष्यमा राज्यलाई पर्ने वृद्धावस्था भत्ताको आर्थिक भार कम हुने उनले उल्लेख गरे।
सहभागीहरूले कर तिरेरै आर्जन गरेको रकम जम्मा गर्ने भएकाले भविष्यमा पेन्सन भुक्तानी लिँदा लाग्ने करबारे कानुनमै स्पष्ट सहुलियतको व्यवस्था हुनुपर्ने उनको माग छ । साथै, कोषको जनशक्ति व्यवस्थापनका लागि तयार पारिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) प्रतिवेदन स्वीकृतिको प्रक्रिया छिटो अघि बढाइदिन पनि उनले समितिसमक्ष आग्रह गरे ।
नयाँ लगानी उपकरण र प्रविधि विस्तारको तयारी
यसैगरी, कोषले वित्तीय स्रोत परिचालन र लगानीको दायरा विस्तार गर्न पुँजी बजारका नयाँ उपकरण तथा वैकल्पिक क्षेत्रमा लगानी बढाउने तयारी गरेको कार्कीले जानकारी दिए। उनका अनुसार बन्दमुखी सामूहिक लगानी कोष (म्युचुअल फन्ड) सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिने प्रक्रिया अघि बढाइएको छ भने निजी पुँजी कोष तथा विशिष्टीकृत लगानी कोषमा लगानी विस्तार गरिँदैछ।
व्यक्तिगत रूपमा जोखिम वहन गर्न कठिन हुने लगानीकर्तालाई लक्षित गरी संस्थागत लगानी व्यवस्थापन सेवा सुरु गर्ने तथा सूचना प्रविधिको अधिकतम प्रयोग गरी स्वचालित र अनलाइन सेवा विस्तार गर्ने योजना कोषले अघि सारेको छ । यस्तै, आगामी पाँच वर्षका लागि ‘तेस्रो रणनीतिक योजना’ निर्माण र कानुनी सुधारका कामलाई तीव्रता दिइएको कार्कीले बताए ।

















