भारतमा विदेशी लगानीको ओइरोले विनिमय दरमा असन्तुलन, आरबीआईकाे हस्तक्षेप कुर्दै बैंक
विदेशी लगानी भित्रिने क्रम तीव्र भएसँगै भारतीय बैंकिङ प्रणालीमा डलरको अधिक तरलता थुप्रिएर ‘फरवार्ड प्रिमियम’ आकाशिएपछि भारतीय बैंकहरूले बजार सन्तुलनका लागि रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) सँग हस्तक्षेपको माग गरेका छन्।
काठमाडाैँ । इक्विटी (सेयर) बजारमा भित्रिएको उच्च विदेशी लगानी र केन्द्रीय बैंकले विगतमा गरेको मुद्रा सटही (करेन्सी स्वाप) का कारण भारतीय बजारमा डलरको तरलता अत्यधिक बढेको छ। यसले विदेशी विनिमय बजारमा असन्तुलन सिर्जना गरेको भन्दै भारतीय बैंकहरूले त्यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकको हस्तक्षेप माग गरेका हुन्।
तीन जना बैंकरहरूलाइ हवाला दिँदै विजनेशलाइनले लेखेअनुसार डलरको अधिक तरलताले अल्पकालीन (ओभरनाइट) विदेशी विनिमय स्वाप दर र भारतीय रुपैयाँ (भारु) को फरवार्ड प्रिमियमलाई अस्वाभाविक रूपमा माथि धकेलेको छ।
यो महिना विदेशी लगानीकर्ताहरूले भारतीय सेयर बजारमा करिब १५ अर्ब डलर भित्र्याएका छन्। यसअघि रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले बजारमा भारुको तरलता व्यवस्थापन गर्न गरेको ‘सेल-बाई स्वाप’ (डलर बेचेर पछि किन्ने सम्झौता) का कारण पहिले नै डलरको तरलता अधिक थियो। त्यसमाथि विदेशी लगानीको यो ओइरोले प्रणालीमा डलर झनै थुपारेको हो।
सञ्चारमाध्यमसँग बोल्ने आधिकारिक अनुमति नभएका कारण नाम नखुलाउने सर्तमा ती बैंकरहरूले डलरको अधिकताले ‘ओभरनाइट डलर/रुपैयाँ स्वाप दर’ बढाएको र त्यसको प्रत्यक्ष असर फरवार्ड प्रिमियममा परेको बताए।
समस्या झन् जटिल बन्ने चिन्ता
निजी क्षेत्रको एक बैंकका ट्रेजरी अधिकारीले महिनाको अन्त्य नजिकिँदै गर्दा डलरको यो अधिक तरलता र यसले बजारमा निम्त्याएको असन्तुलन अझ खराब हुन सक्ने चेतावनी दिए। “त्रैमासिक अन्त्यतिर पुग्दा यो अवस्था झन् जटिल बन्दै जानेछ,” उनले भने।
ती अधिकारीका अनुसार बजारमा थुप्रिएको अधिक डलर प्रशोचन गर्न र फरवार्ड प्रिमियमको अस्वाभाविक वृद्धिलाई नियन्त्रणमा लिन बैंकहरूले आरबीआईलाई ‘बाई-सेल स्वाप’ (डलर किनेर पछि बेच्ने सम्झौता) सञ्चालन गर्न आग्रह गरेका छन्।
बिहीबार एकवर्षे डलर/रुपैयाँ फरवार्ड प्रिमियम सन् २०२२ को जनवरीयताकै उच्च बिन्दुमा पुगेको छ। यो प्रिमियम १० दिनकै अवधिमा ७० आधार बिन्दु (बेसिस प्वाइन्ट) भन्दा बढीले उकालो लागेको हो। यसैगरी, एकदिने फन्डिङ लागत (वन-डे फन्डिङ कस्ट) बढेर २ पैसा पुगेको बैंकरहरूले बताए। यो दर भारत र अमेरिकाबीचको ब्याजदर अन्तरले देखाउने स्वाभाविक स्तरभन्दा झन्डै आठ गुणा बढी हो।
आरबीआई किन हस्तक्षेप गर्न अनिच्छुक ?
बैंकरहरूले हस्तक्षेपको माग गरे पनि आरबीआई तत्काल कदम चाल्न अनिच्छुक हुन सक्ने दोस्रो बैंकरको विश्लेषण छ। उच्च फरवार्ड प्रिमियमले एकातिर निर्यातकर्ताहरूलाई विनिमय दरको जोखिम कम गर्न (हेजिङ गर्न) प्रोत्साहित गर्छ भने अर्कोतिर सट्टेबाजहरूलाई भारु कमजोर हुने गरी बाजी लगाउन महँगो बनाइदिन्छ।
बैंकरहरूका अनुसार यी दुवै कुराले अप्रत्यक्ष रूपमा भारुलाई बलियो बनाउन मद्दत गर्छन्, जुन मुद्राको मूल्य स्थिर राख्ने आरबीआईको बृहत् उद्देश्यसँग मेल खान्छ। पछिल्लो समय भारुमा तीव्र सुधार आउँदै सात महिनायताकै उच्च विन्दुमा पुगेको छ।
परम्परागत रूपमै आरबीआईले डलरको तरलता असन्तुलन र बजारमा देखिने यस्ता विचलनहरूलाई बजारकै शक्ति (माग र आपूर्ति) ले समाधान गरोस् भन्ने चाहने गरेको ती दोस्रो बैंकरले बताए।
तर यदी भारतीय रिजर्भ बैंकले साँच्चै डलरकाे प्रवाहमा हस्तक्षेप गरिदियाे भने नेपाली बजारमा पनि डलर महँगाे पर्ने छ । अन्यथा अहिलेजस्तै सस्ताे रहने संभावना पनि छ ।

















