ब्याजदर घटाउन एफएनसीसीआईले नवनियुक्त अर्थमन्त्रीलाई सुझाव - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ब्याजदर घटाउन एफएनसीसीआईले नवनियुक्त अर्थमन्त्रीलाई सुझाव



काठमाडौं । एफएनसीसीआईका अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग आग्रह गरेका छन् ।

नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधि मण्डलले आज बिहान सिंहदरवारमा बधाई भेटवार्ता सम्पन्न भएको छ । डा.महत शुुक्रवारमात्र देशको अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

सोही अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिए । सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गरेका थिए ।

सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले जानकारी दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनको आग्रह गरे ।

सरकारसंग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनले भने । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनले भनेका छन् । अर्थमन्त्रीसंग अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुरयाउने जानकारी दिए ।

गोल्छाले विदेशबाट पैसा भित्रयाउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न आग्रह गरे । निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न जोड दिएका थिए । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए ।

साथै, नवनियुक्त अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका छन् । तपाईहरुको मनोवल घट्न दिन्न तपाईहरुसंग निरन्तर संवादमा रहन्छु र मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु, नवनियुक्त अर्थमन्त्री डा. महतले महासंघसंगको भेटवार्तामा भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्