पैसाको जोहो गर्नुहोस् है ? भोलिदेखि रावा इनर्जिको आइपीओ आउदैं
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले पहिलो चरणमा भोलि अर्थात चैत २३ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आइपीओ निष्कासन गर्नै लागेको हो ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशतले हुने २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्नेछ ।
त्यस्तै, दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजन प्रभावित क्षेत्रका स्थानीयले छिटोमा आगामी वैशाख ७ गते हुनेछ भने ढिलोमा वैशाख २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख ७ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













