विद्युत बिक्री आम्दानी घट्दा चिलिमे हाइड्रोपावरको नाफामा दबाब, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले ९ महिनामा पानै ५३ करोड खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ खद नाफा कमाएको हो । तर, गत आवको तेस्रो् त्रैमासको तुलनामा सामान्य अर्थात १.३३ प्रतिशतले वृद्धि हो । गत आवको समिक्षा अवधिमा ५२ करोड २० लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेपछि नाफा वृद्धिमा दबाब देखिएको हो । चालु आवको ९ महिनामा कम्पनीले बिजुली बेचर ८० करोड ४२ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, गत आवको चैत मसान्तसम्मको तुलनामा भने २.३३ प्रतिशतले कमी हो । गत आवको समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
यस त्रैमाससम्ममा नेपाल विद्युत प्राधिरणले गत आवको तुलनामा कम विद्युत उर्जा खरिद गरेकाले नै आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । ‘नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र यस अवधिमा गत आवको चैत्र मसान्तसम्मको तुलनामा न्युन विद्युत उर्जा खरिद भएकोले गर्दा विद्युत विक्री आम्दानी पनि न्युन हुन गएको हो ।’ कम्पनीको व्यवस्थापकीय विश्लेषण छ ।
कम्पनीको बैंक मौज्दात बढेकाले र ब्याजदरमा पनि केही सुधार भएपछि ब्याज आम्दानी बढेको छ । कम्पनीको व्याज आम्दानीतर्फ ३५.०७ प्रतिशत अर्थात ४ करोड ५६ लाख ५० हजार रुपैयाँले वृद्धि भएको हो ।
हालको नगद मौज्दातलाई लाभांश दिन, नयाँ आयोजनाको पहिचान एवं विकास, अध्ययन, चिलिमे कर्पोरेट भवन निर्माण, कार्यालय सञ्चालनार्थ लगायतका कामहरुका लागि उपयोग गर्दै लगिने कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । यो गत आवको समिक्षा अवधिको तुलनामना भने ७.५ प्रतिशतले बढी हो । यस्तै, कम्पनीको जगेडा तथा कोषमा भने ३ अर्ब १३ करोड ७८ लाख रुपैयाँ देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ ।













