१९ श्रावण २०८३, मंगलबार

सामाजिक सुरक्षा कोषबाट ४ अर्ब २२ करोड दावी भुक्तानी, ४ लाख ८४ हजार श्रमिक सूचीकृत



काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई हालसम्म ४ अर्ब बढी दावी भुक्तानी गरेको छ ।

कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा ४ अर्ब २२ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो । कोषबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरि चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म कोषमा ३३ अर्ब ९ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषको २०६७ चैत ७ गते स्थापना भएको हो । कोषले २०७५ मंसिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो। रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । त्यसरी जम्मा गरिएको योगदान रकम मध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ । वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत मध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्ने व्यवस्था समेत रहेको छ ।

कोषका अनुसार सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजना मार्फत ३ अर्ब ५९ करोड ४३ लाख ४६ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । यस योजनामा २१ अर्ब ६३ करोड ९३ लाख ९५ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । बैशाख १६ गतेसम्ममा वृद्ध अवस्था सुरक्षा योजना मार्फत ४६ हजार २९३ वटा दावी भुक्तानी गरिएको कोषले जनाएको छ ।

यस्तै, औषधि उपाचार, स्वास्थ्य तथा मातृत्व योजना मार्फत दावी भुक्तानी भएको छ । सो योजना मार्फत ५० करोड १ लाख ७ हजार रुपैयाँ रकम दावी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषका अनुसार यस योजनामा ६६ हजार ९७५ पटक दावी भुक्तानी गरिएको हो । दावी गर्नेको संख्या भने २९ हजार ९४८ रहेको थियो । औषधि उपाचार, स्वास्थ्य तथा मातृत्व योजना योजनामा बैशाख १६ गतेसम्ममा १ अर्ब ८६ लाख ११ हजार रुपैयाँ बढी योगदान रकम संकलन भएको छ ।

कोषका अनुसार आश्रित परिवार सुरक्षा योजना मार्फत भने ७ करोड ३६ लाख ७ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । यस योजनामा २७ करोड २३ लाख २५ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । त्यसैगरि दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ६ करोड ६ लाख २६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यो योजनामा १ अर्ब ४५ करोड ३० लाख २६ हजार रुपैयाँ योगदान रकम संकलन भएको कोषले जनाएको छ ।

कोषका अनुसार साधारण अवकाश कोष अन्तर्गत ७ अर्ब २९ लाख ४९ हजार रुपैयाँ, विशेष सुविधा अवकाश बचत कोषमा ८० लाख ६२ हजार, अतिरिक्त योगदान कोषमा ३४ करोड ३३ लाख २९ हजार, अवकाश प्रतिफल कोषमा २० करोड ६२ लाख ८९ हजार, निवृत्तिभरण अन्तर्गत ८६ करोड २५ लाख १५ हजार र विशेष सुविधा अवकाश बचत मार्फत ८० लाख ६२ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।

पौन ५ लाख श्रमिक सूचकिृत, थपिँदै रोजगारदाता

कोषमा पौने ५ लाख श्रमिक आवद्ध भएका छन् । हालसम्म कोषमा ४ लाख ८४ हजार ६९३ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ९० जहार ८७८ योगदानकर्ता सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३९ हजार ६६६, मधेशबाट २१ हजार ४६१, गण्डकीबाट १५ हजार ५०८, लुम्बिनीबाट १४ हजार ३६३, सुदुरपश्चिमबाट १ हजार ५५९ र कर्णालीबाट १ हजार २५८ योगदान कर्ता सूचीकृत भएका हुन् ।

कोषमा आवद्ध हुने रोजगारदाताको संख्या १७ हजार ८४९ पुगेको छ । जसमध्ये बागमती प्रदेशबाट १२ हजार ३३१, गण्डकीबाट ८४३, लुम्बिनीबाट १ हजार ४८३, कोशीबाट १ हजार ८६०, मधेशबाट ८२७, सुदुरबाट २५९ र कर्णाली प्रदेशबाट २४६ रोजगारदाता आवद्ध भएका हुन् ।