तामाकोशी पाँचौं बनाउन जुट्यो लगानी, कर्मचारी सञ्चय कोषले १३ अर्ब ७५ करोड ऋण दिने
काठमाडौं । तामाकोशी पाँच जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ ।
दोलखामा निर्माण हुने ९९.८ मेगावटको सो आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको हो । सो आयोजना निर्माणमा कोषले १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
आयोजना निर्माणका लागि लगानी जुटाउन आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रीपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता गरेसँगै आयोजनाको लागि लगानी जुटेको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले हस्ताक्षर गरे ।
तामाकोसी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । जुन निर्माण अवधिको ब्याजसहित हो । नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी निर्माण गरी निर्माण गर्न आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्वटी) को रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनोद भण्डारीले बताए । उनका अनुसार स्वपुँजीमध्ये विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहनेछ ।
तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ । माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको सीईओ भण्डारीले बताए ।
आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ । आयोजनाको वातावरण प्रभाव मूल्यांकन (इआईए) को काम सम्पन्न भैसकेको सो आयोजनाको गत वर्षको मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भैसकेको छ । सोही मितिमै परामर्शदाता समेत छनोट भैसकेको कम्पनीले जनाएको छ।
सम्झौता कार्यक्रममा ऊर्जा मन्त्री शक्ति बस्नेतले नेपालको समृद्धिका लागि जलविद्युतको प्रचुर सम्भावना रहेको बताए । सोही अवसरमा मन्त्री बस्नेतले तामाकोशी पाँच समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । उर्जा क्षेत्रले नै मुलकुको समृद्धिमा ठुलो योगदान दिने उनको भनाई थियो । उनले भने,–‘पछिल्लो सयम नेपालमा जलविद्युत क्षेत्रबाट महत्वपूर्ण उपलब्धि भईरहेको छ । मुलुकको समृद्धिमा उर्जाको क्षेत्रको ठुलो योगदान छ, विद्युतीय विस्तार अझै प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक छ ।’
यता, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सञ्चय कोषले जलविद्युत आयोजनामा लगानी बढाउँदै गएको बताए ।सोही अवसरमा निर्देशक घिसिङले तामाकोशी पाँचौं आयोजनामा लगानी सुनिश्चित गरेको कर्मचारी सञ्चय कोषलाई धन्यवाद समेत दिए ।
सोही अवसरमा कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र धितालले भने कोषले विद्युत क्षेत्रमा लगाउनी अझै बढाउने जानकारी गराए । उनको कोष जलविद्युतमा लगानी केन्द्रित रहेको बताए । उनले भने,– ‘कर्मचारी कोष सञ्चयले कोषले ठुला ठुला आयोजनामा पनि लगानी गर्दै आएको छ । पछिल्लो समय जलविद्युत केन्द्रीत लगानी बढ्दैछ । ८१५ मेगावाटका आयोजनामा ६० अर्बभन्दा बढी लगानी कोष गरेको छ ।’ तामाकोशी पाँचलाई एक नमुना आयोजनाका रुपमा सम्पन्न गर्न अधिकृत धितालले आग्रह गरे ।













