७ श्रावण २०८३, बिहिबार

साउन १४ गतेदेखि मिड सोलु हाइड्रोपावरको आइपीओ आउने, १० हजार कित्ता आवेदन दिन सकिने



काठमाडौं । मिड सोलु हाइड्रोपावरले आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत (७ करोड ४८ लाख ४० हजार रुपैयाँ) बराबरको सेयर बिक्री गर्न लागेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई जारी गर्न लागेको हो । जस मध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३,४,५,६, ७ र ११ का बासिन्दाहरुलाई निष्कासन गर्न लागेको हो । त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थिानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने जनाएको छ ।

साथै, सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये १० प्रतिशत (७४ हजार ८४० कित्ता) सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओ साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानियका लागि खुला गरेको आइपीओमा भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म खुला रहनेछ ।

आइपीओमा आवेदन आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकको रुपमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्