आन्तरिक उत्पादन बढाउन र निजी क्षेत्रसँग सहकार्य गर्न महालेखाको सुझाव

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले अर्थतन्त्रको सुधारका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने र निजी क्षेत्रसँग गहन सहकार्य गर्नुपर्ने सुझाव दिएको छ ।
महालेखाले लक्ष्य अनुरुप आर्थिक बृद्धि हासिल हुने गरी कार्यसम्पादन गर्नुपर्ने भनेको छ । यसका लागि लगानीमत्रैत्री वातावरण तयार गर्नुपर्ने र अर्थतन्त्रका नवीन क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्नुपर्ने सुझाव दिइएको छ ।
महालेखापरीक्षक तोयम रायले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई ६१ औँ वार्षिक प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनले वित्तीय संसाधनको पारदर्शी परिचालन गर्नुका साथै सरकार, निजी क्षेत्र, सहकारी र विकास साझेदारसँग गहन साझेदारी विकास गर्नुपर्ने उल्लेख छ ।
साथै, प्राकृतिक स्रोतको उपयोग र दिगोपनामा जोड दिनुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय लेखामा समेट्नुपर्ने, कर प्रशासनलाई थप चुस्त बनाउनु पर्ने र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याएर उत्पादनशील कार्यमा उपयोग गर्नुपर्ने उल्लेख छ ।