आर्थिक वर्ष सकिन अब एक हप्ता मात्रै बाँकी, भोलिदेखि सबै सरकारी खाता रोक्का
काठमाडौं । भोलि अर्थात् असार २४ गते सोमबारदेखि सरकारी खाता बन्द हुने भएको छ। एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने भएको हो ।
महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द हुने भएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार कार्यालयले जनाएको छ । नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।
त्यसकै आधारमा प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द हुनेछन् । अब सोमबारसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्नेछ ।
विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न नपाइने कार्यालयले जनाएको छ । तर, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।













