बाढी पीडितलाई सहयोग गर्न सिटिजन्स बैंकले २५ लाख दिने घोषणा « Arthapath.com
१२ आश्विन २०८१, शनिबार

बाढी पीडितलाई सहयोग गर्न सिटिजन्स बैंकले २५ लाख दिने घोषणा



काठमाडौँ । देशभर बाढी पहिरोले ब्यापक मात्रामा जनधनको क्षति गर्न थालेपछि सिटिजन्स बैंकले उद्धार तथा राहतमा सरकारलाई सहयोग गरेको छ । बाढी प्रभावितहरुलाई सहयोग गर्न भन्दै बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (छोटकरीमा ‘प्रधानमन्त्री राहत कोष’ भन्ने गरिएको)मा सहयोग गर्ने घोषणा गरेको हो ।

मध्ये असोजमा परेको भारी वर्षाका कारण उत्पन्न जटिलतासँग जुध्न उक्त कोषमा सर्वप्रथम सहयोग घोषणा गर्ने बैंक सिटिजन्स बनेको छ । दुई दिनदेखि अनवरत वर्षा हुँदा देशका अधिकांश भागमा जनजीवन प्रभावित भएको छ ।

राजधानी काठमाडौंदेखि देशैभरी विभिन्न स्थानमा बाढी पहिरोमा परेर थुप्रै नागरिकले ज्यान गुमाएका छन् भने कयौँ भौतिक संरचना तथा सम्पत्तीको नास भएको छ । यस्तो विपत्तीसँग जुध्न बैंकले सहायता गर्ने बताएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत यस प्रकारको सहायता गर्न लागेको जनाएको छ । भूकम्पको बेला नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई सीएसआरमा बाध्यकारी लगानी गर्न निर्देशन दिएसँगै यस प्रकारको अभ्यास सुरु भएको थियो ।

तर दशकौँपछि आएको भारी वर्षाद्वारा सिर्जित संकटसँग जुध्न आफूहरुले राज्यलाई सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बताए । उनले भने, ‘सिटिजन्स बैंकमा हामीहरु आफ्नो सीमित स्रोतसाधनका बावजुद यो विपदको घडिमा विभिन्न जिल्लाहरुमा सहयोग गरिरहेका छौँ ।’

उनले यो पैसा प्रधानमन्त्री राहत कोषबाट परिचालन हुने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्