गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि कोरियाले १.२५ अर्ब अनुदान दिने
काठमाडौं । काेरियाले नेपाललाई गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका ९ मिलियन अमेरिकी डलर बराबरकाे अनुदान दिने भएकाे छ ।
नेपाल सरकार र कोरियाली सरकारबीच गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि ९ मिलियन अमेरिकी डलर (१ अर्ब २५ करोड) बराबरको अनुदान सहयोग सम्झौता सम्पन्न भएको हाे।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र कोरियाको तर्फबाट नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क ते–योङले हस्ताक्षर गरे।
यो परियोजना २०३० डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। परियोजनाको कार्यान्वयन पक्ष कोरियाको तर्फबाट कोरियन इन्टरनेसनल कोअपरेसन एजेन्सी (KOICA) हुनेछ भने नेपालको तर्फबाट गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (GTEVTA) रहनेछ।
यस परियोजनाको मुख्य उद्देश्य नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (TVET) नीति र सोलौ योजनासँग सुसंगत हुँदै गण्डकी प्रदेशलाई एक प्राविधिक केन्द्रको रूपमा विकास गर्नु हो। सोही अनुसार, उच्च गुणस्तरीय, उद्योगमैत्री प्राविधिक शिक्षामार्फत स्थानीय तथा अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको छ।
परियोजनाले सम्बन्धित तालिम केन्द्रहरूमा अध्यापन गराउने शिक्षक र विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नेछ। साथै, उद्योग र समुदायसँगको सहकार्य सुदृढ गर्दै शिक्षा प्रणालीलाई व्यवहारिक बनाउने योजनासमेत यसमा समावेश गरिएको छ।
सम्झौतापछि अर्थ सचिव घनश्याम उपाध्यायले भने, “कोरियाले लामो समयदेखि नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ। यो सम्झौताले नेपालको TVET क्षेत्रको प्रगतिको दिशामा पुनः बलियो प्रतिबद्धता दर्शाउँछ। मलाई विश्वास छ, यस परियोजनाले नेपालमा रोजगारमुखी सीप विकास गर्दै समग्र सामाजिक–आर्थिक वृद्धिमा योगदान पुर्याउनेछ।”
त्यस्तै, राजदूत पार्क ते–योङले भने, “यो परियोजना भवन तथा पूर्वाधारको मात्र लगानी होइन, यो नेपाली जनताको सीप, क्षमता र भविष्यको श्रमशक्तिमा गरिएको लगानी हो। हामी नेपालमा २१औं शताब्दीको अर्थतन्त्रलाई सम्बोधन गर्न सक्ने गुणस्तरीय र उद्योगसँग मिल्दोजुल्दो प्राविधिक शिक्षा प्रणाली विकासमा योगदान पुर्याउनेछौं।”
गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीमार्फत गण्डकी प्रदेशमा आधुनिक प्राविधिक शिक्षा प्रणालीको आधार निर्माण गरी दीर्घकालीन रूपमा श्रम बजारमैत्री दक्ष जनशक्ति उत्पादन गरिने अर्थमन्त्रालयले जनाएकाे छ।













