सुल्झिएन इप्पानको विवाद, ‘चुनाव सार्ने कि गर्ने’ भन्नेमा पुग्यो छलफल
काठमाडौँ । निजी ऊर्जा उत्पादकहरुलाई संगठित गर्ने गैरसरकारी संस्था अर्थात् इप्पानमा नेतृत्वको झगडा झनै बल्झिँदै गएको छ । दुई खेमामा रहेर चुनावी प्रतिस्पर्धामा उत्रिएका व्यवसायीहरु अब तोकिएको मितिमा ‘चुनाव गर्ने कि सार्ने’ भन्ने विवादमा पुगेका छन् ।
संस्थाले यही जेठ २९ मा वार्षिक साधारणसभा तोकेको छ । यो साधारण सभाले नयाँ कार्यसमितिको चुनाव पनि गराउने छ । तर यस पल्ट मैदानमा चुनावी नेतृत्वका दाबेदारहरुमात्रै छैनन्, उनीहरुले विधानलाई आफू अनुकुल व्याख्या र विश्लेषण गर्दै भिन्न रणनीतिहरु अपनाएका छन् ।
इप्पानको वर्तमान विधान अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वत: अध्यक्ष हुन्छन् । त्यसैले उनको खेमाबाट उत्तम भ्लोन लामाले बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने भनेर प्यानलसहित घोषणा गरिसकेका छन् ।
अर्को पक्षको नेतृत्व चाहीँ महासचिव बलराम खतिवडा र उपाध्यक्ष भरतबहादुर खत्रीले गरेका छन् । यो समूहको हर्तकर्ता वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल हुन् । दुलाले केही दिन अघि अध्यक्ष गणेश कार्कीको ‘फेयर–वेल’ पार्टीमा भनेका थिए, ‘राजाको छोरो राजा हुने व्यवस्था त हटिसकेको देशमा अब स्वत: अध्यक्ष हुने कुरा लागू गरेर हुन्छ ?’
यो समूहको रणनीति अनुसार चुनाव सारेरै भए पनि संशोधित विधान बमोजिम निर्वाचन गराउने हो । आगामी शुक्रबार हुने साधारण सभाले विधानमात्रै संशोधन गर्ने गरी कार्यतालिका बनाउनु पर्ने दुलालले बताए । उनका अनुसार स्वत: अध्यक्ष बन्ने प्रावधान खारेज गरेर अध्यक्षमा प्रत्यक्ष चुनाव हुने व्यवस्था गर्न इप्पानका सबैजसो सदस्यहरु सहमत छन् ।
त्यतिमात्रै होइन, अध्यक्ष बन्न कार्यसमिति सदस्यबाट आउनुपर्ने र तीन कार्यकाल विताउनै पर्ने विद्यमान प्रावधानलाई समेत हटाउने उनीहरुको तयारी छ । जो कोही मान्छे पहिले कहिल्यै इप्पानको कार्यसमितिमा नबसेको भए पनि सोझै अध्यक्षमा भिड्न पाउने गरी विधान संशोधन गर्ने प्रस्ताव यो समूहको छ ।
तर उत्तमको समूहले भने विधान संशोधन गरे पनि दुई कार्यकाल पछि अर्थात् २०८९ सालको चुनावमा मात्रै त्यस्तो व्यवस्था लागू हुने गरी विधान संशोधन गर्ने रणनीति लिएका छन् । ताकी, अहिले बरिष्ठ उपाध्यक्ष र त्यसपछि स्वत: अध्यक्ष बन्न सकियोस् ।
सिण्डिकेटको आरोप
हालको विधानको व्यवस्थालाई अर्को समूहले ‘सिण्डिकेट’ अर्थात् मिलेमतोमा संस्था कब्जा गर्न खोजेको भनेर व्याख्या गरेको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष खत्रीले यस्तो सिण्डिकेट तोड्न आवस्यक भएको केही समयअघि अर्थपथसँगको कुराकानीमा भनेका थिए । यता अहिले ‘संस्थापन’ जस्तो देखिएको (किनकी, अध्यक्ष गणेश कार्कीको समर्थद देखिन्छ) भ्लोन समूहका व्यवसायीहरुको तर्क अर्कै छ ।
उनको समूहका एक व्यवसायीले भने, ‘हिजो उहाँहरु पनि त्यही सिण्डिकेटबाट आउनु भएको हो । तीन वर्षअघि हामी सबै एकै ठाउँमा थियौँ । अहिले साथीहरुलाई पद पुगेन । त्यसैले कोही कता, कोही कता भएका हुन् ।’
गत चुनावमा के भएको थियो ?
तीन वर्ष अघि जेठ ३२ गतेका लागि मतदान गर्ने कार्यतालिका तोकिएको थियो । तर जेठ ३१ मै सबै पदाधिकारीहरु ‘सर्वसम्मत’ निर्वाचित भइसकेका थिए । त्यसो हुनुमा प्रतिस्पर्धी नै नभएको चाहीँ होइन ।
पदाधिकारीमध्ये उपमहासचिव र कोषाध्यक्षबाहेक सबै पदमा उमेदवारी परेको थियो । तर निर्वाचन समितिले ती सबै उमेदवारीलाई ‘अयोग्य’ भनेर खारेज गरिदियो ।
अध्यक्षमा किरण मल्ल, वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी, उपाध्यक्षमा वीरेन्द्र मल्ल र दिपेन्द्र बम, महासचिवमा विनोद देवकोटा र सचिवमा नारायण कँडेलले उमेदवारी दिए पनि ती सबैको उमेदवारी खारेज भएको थियो ।
त्यसैले एउटै खेमा र एउटै प्यानलबाट प्रतिस्पर्धामा आएका व्यवसायीमात्रै अहिलेको कार्यसमितिमा रहेको ती व्यवसायी बताउँछन् ।
चुनाव अहिले कि पछि ?
इप्पानले यसै कार्यकालमा पनि आफ्नो साधारण सभा असारको मसान्तसम्म लम्ब्याएको दृष्टान्त दिँदै उपमहासचिव दुलालले चुनाव सार्ने प्रस्ताव अघि बढाएका छन् ।
उनले यो हप्ता विधान संशोधन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएपछि त्यसलाई दुई साताभित्र जिल्ला प्रशासन कार्यालयबाट प्रकाणिकरण गर्ने बताए । प्रमाणिकरण भएको संशोधित विधान बमोजिम नयाँ चुनाव गर्ने रणनीतिमा यो समूह पुगेको छ ।
उनीहरुले संशोधित विधान अनुसार चुनाव भएमा अध्यक्षको उमेदवारका रुपमा भरत खत्रीलाई अघि सार्ने तयारी गरेका छन् । उनको बरिष्ठ उपाध्यक्षमा बलराम खतिवडा रहने छन् । यदी त्यसो गर्न सम्भव भएन भने चाहीँ बरिष्ठको उमेदवार खतिवडा नै रहने छन् । खत्री उपाध्यक्षमा उमेदवार दिने छन् ।
तर अध्यक्ष गणेश कार्कीदेखि बरिष्ठ उपाध्यक्ष डाँगी र उनका उत्तराधिकारी बन्न खोजेका उत्तम भ्लोन भने जसरी पनि अहिले नै चुनाव गराएर जाने रणनीतिमा छन् । त्यसैले झ्वाट्ट हेर्दा अहिलेको यो विवाद बरिष्ठ उपाध्यक्ष डाँगीलाई ‘अध्यक्ष स्वीकार्ने कि नस्वीकार्ने’ भन्नेमा ज्यादा केन्द्रित हुँदै गएको देखिन्छ ।
संस्थापन पक्षले भने साधारण सभाका दौरान कुनै अप्रिय घटना हुन नदिन पर्याप्त सुरक्षा प्रबन्ध मिलाएर त्यसै दिन चुनाव सक्ने कार्यतालिका अघि सार्न लागेको छ ।
कसलाई कसको साथ ?
संस्थामा सम्बद्ध क्रियाशील व्यवसायीहरुको कुरा पत्याउने हो भने २७ सदस्यीय वर्तमान कार्यसमितिमा १८–२० जना एकातिर र ७–९ जना अर्कोतिर छन् । तर यो संख्या बदलिइरहेको छ ।
मूल रुपमा अध्यक्ष कार्की, बरिष्ठ उपाध्यक्ष डाँगी र उत्तम भ्लोन लामा एक ठाउँमा उभिएका छन् । खत्री र खतिवडाको पक्षमा भने दुलालका साथसाथै पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईँको जोडदार समर्थन छ ।
तर रोचक कुरा के छ भने, यस पल्ट नयाँ सदस्य नै २०० जनाभन्दा बढी हुने अवस्था बनेको छ ।
यसअघि जम्मा ५०७ जना सदस्य रहेको संस्थामा गत शुक्रबारसम्म नयाँ १७४ जना नयाँ सदस्य थपिइसकेका छन् । यसरी अहिले नै सदस्य संख्या ६८१ पुगिसकेको छ । अझै केही दिन सदस्यताका निवेदनहरु थपिने क्रममै छन् ।
शुक्रबारसम्म करीब ४२० जना पुराना सदस्यले आफ्नो सदस्यता नविकरण गराएका छन् । बाँकी सदस्यले पनि नविकरण गराउने निश्चित रहेको भ्लोन समूहका एक व्यवसायीले अर्थपथसँग भने । यसो गर्दा इप्पानमा सदस्यको संख्या ७ सयभन्दा माथि पुग्ने देखिएको छ ।
यो ठूलो भीडले कसलाई समर्थन गर्छ भन्ने कुराले मत परिणाम प्रभावित हुनसक्छ । तसर्थ कार्यसमितिमा ‘बहुमत र अल्पमत’ हिसाब गरेर खासै काम नलाग्ने दुलाल खेमाका व्यवसायीको भनाइ छ ।















