फोर्डको धक्कापछि ईभीमार्फत जुर्मुराउँदै गोल्छा ग्रुपको जिओ अटोमोबाइल्स, व्यापार घट्दा पनि वित्तीय आधार अझै बलियो « Arthapath.com
३१ असार २०८३, बुधबार

फोर्डको धक्कापछि ईभीमार्फत जुर्मुराउँदै गोल्छा ग्रुपको जिओ अटोमोबाइल्स, व्यापार घट्दा पनि वित्तीय आधार अझै बलियो



काठमाडौँ । नेपालका लागि फोर्ड, एमजी र काइयी ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिको व्यापार विस्तारमा पछिल्ला वर्षहरूमा दबाब देखिए पनि कम्पनीको वित्तीय आधार, ऋण तिर्ने क्षमता र पुँजी संरचना भने अझै सन्तोषजनक अवस्थामा रहेको देखिएको छ।

गोल्छा अर्गनाइजेसनको बलियो संस्थागत आधार, कम ऋण भार तथा पर्याप्त कार्यशील पुँजी उपलब्धताले कम्पनीलाई चुनौतीपूर्ण अवस्थाबीच पनि वित्तीय रूपमा टिकाइराखेको मूल्याङ्कन गरिएको छ। इक्रा नेपालले कम्पनीको १० करोड ५० लाख रूपैयाँकाे दीर्घकालीन कर्जाका लागि ‘एल डबल बी’ र ६९ करोड रूपैयाँकाे अल्पकालीन दुवै कर्जा मूल्याङ्कनलाई ‘ए फाेर’ रेटिङ प्रदान गरेकाे छ।

व्यापारको आकार भने पछिल्ला वर्षमा लगातार खुम्चिएको छ। आर्थिक वर्ष २०२२ मा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२३ मा घटेर ८२ करोड ९० लाख रुपैयाँमा झर्यो। आर्थिक वर्ष २०२४ मा सामान्य सुधारसहित ८३ करोड ७० लाख रुपैयाँ पुगे पनि आर्थिक वर्ष २०२५ मा फेरि घटेर ७९ करोड ९० लाख रुपैयाँमा सीमित भयो। चालु आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा कम्पनीले ५० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।

यो गिरावटको मुख्य कारण सन् २०२१ सेप्टेम्बरमा भारतमा फोर्डको उत्पादन तथा एसेम्बली केन्द्र बन्द हुनु रहेको बताइएको छ। त्यसअघि कम्पनीको कारोबार लगभग पूर्ण रूपमा फोर्डमा निर्भर थियो। त्यसपछि कम्पनीले व्यवसाय विविधीकरण गर्दै एमजी, म्याक्सस, काइयी र लिप मोटरजस्ता नयाँ ब्रान्ड थपे पनि ती ब्रान्डबाट अपेक्षित आम्दानी अझै प्राप्त भइसकेको छैन।

भारतमा फोर्डको उत्पादन बन्द भएपछि कम्पनीले थाइल्यान्डलगायत अन्य मुलुकबाट आयात हुने रेन्जर र एभरेष्टजस्ता उच्च मूल्यका सवारीसाधनमा ध्यान केन्द्रित गरेको छ। साथै विद्युतीय सवारीसाधनतर्फ आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति पनि अघि बढाएको छ।

सञ्चालन नाफा अझै ऋणात्मक

व्यापार घटेसँगै कम्पनीको सञ्चालन नाफामा पनि लगातार दबाब परेको छ। आर्थिक वर्ष २०२५ मा सञ्चालन नाफा मार्जिन करिब ६ प्रतिशत ऋणात्मक रह्यो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि करिब ५ प्रतिशत ऋणात्मक नै रहेको छ। यसले कम्पनीको मूल व्यवसायबाट पर्याप्त आम्दानी हुन नसकेको देखाउँछ।

यद्यपि, मे २०२६ देखि भारतमै एसेम्बल भएका एमजीका विन्डसर र कमेटजस्ता विद्युतीय मोडल नेपाल भित्रिएपछि आगामी मध्यम अवधिमा सञ्चालन नाफामा सुधार आउने अपेक्षा गरिएको छ।

ऋण तिर्ने क्षमता कस्तो छ ?

व्यापार र सञ्चालन नाफामा दबाब भए पनि कम्पनीको ऋण तिर्ने क्षमता भने हालका लागि पर्याप्त र सुरक्षित देखिएको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा कम्पनीको ऋण सेवा भुक्तानी क्षमता सूचक १.४ गुणा रहेको छ। यसको अर्थ कम्पनीले तिर्नुपर्ने किस्ता र ब्याजभन्दा करिब ४० प्रतिशत बढी स्रोत उपलब्ध गराउन सकेको अवस्था हो।

यद्यपि, यो क्षमता मुख्यतः सञ्चालन नाफाबाट नभई गैर–सञ्चालन आम्दानीको सहयोगले कायम भएको हो। विगत चार वर्षदेखि फोर्ड इन्डियाले उपलब्ध गराउँदै आएको ‘ब्रान्ड संरक्षण शुल्क’ तथा लाभांश र घरभाडा आम्दानीले ऋण भुक्तानीमा उल्लेख्य सहयोग पुर्‍याएको छ। तर यो ब्रान्ड संरक्षण शुल्क आर्थिक वर्ष २०२६ पछि पूर्ण रूपमा बन्द हुने भएकाले आगामी दिनमा कम्पनीले सञ्चालन आम्दानीकै आधारमा ऋण तिर्न सक्ने क्षमता बढाउनुपर्ने आवश्यकता देखिएको छ।

पुँजी संरचना अझै बलियो

कम्पनीको पुँजी संरचना भने सन्तोषजनक अवस्थामा छ। मध्य अप्रिल २०२६ सम्म कम्पनीको कर्जा परिचालन अनुपात ०.४ गुणा मात्र रहेको छ भने नेटवर्थको तुलनामा बाह्य दायित्व ०.७ गुणा छ। यी दुवै सूचक सुरक्षित मानिने स्तरमा रहेका छन्।

पछिल्ला वर्षहरूमा लाभांश वितरण नगरी नाफाको एक हिस्सा व्यवसायमै राख्ने नीतिका कारण कम्पनीले ऋणमा अत्यधिक निर्भर हुनुपरेको छैन। यही कारण कमजोर व्यापारका बाबजुद पनि कम्पनीको वित्तीय आधार सन्तुलित रहेको मूल्याङ्कन गरिएको छ।

उधारो रकम उठ्न ढिलाइ हुनु र मौज्दात बढ्दै जानुले कार्यशील पुँजीको आवश्यकता भने बढेको छ। कार्यशील पुँजीको तीव्रता मध्य जुलाई २०२५ को ११७ प्रतिशतबाट बढेर मध्य अप्रिल २०२६ मा १४३ प्रतिशत पुगेको छ।

तर पनि कम्पनीसँग अझै करिब १७ करोड ७० लाख रुपैयाँ बराबर थप कर्जा उपयोग गर्न सक्ने क्षमता बाँकी रहेकाले निकट अवधिमा तरलता संकट आउने जोखिम कम रहेको मूल्याङ्कन गरिएको छ।

मुख्य चुनौतीहरू

कम्पनीले केही महत्वपूर्ण चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। पछिल्ला दुई आर्थिक वर्षदेखि सञ्चालन नाफा निरन्तर ऋणात्मक रहनु कम्पनीका लागि प्रमुख चिन्ताको विषय बनेको छ।

यससँगै, विगत चार वर्षदेखि ऋण भुक्तानीमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको फोर्ड इन्डियाको ‘ब्रान्ड संरक्षण शुल्क’ आर्थिक वर्ष २०२६ पछि पूर्ण रूपमा बन्द हुने भएकाले कम्पनीले सञ्चालन आम्दानीकै भरमा वित्तीय दायित्व व्यवस्थापन गर्नुपर्ने अवस्था आउनेछ।

त्यसैगरी, उधारो रकम असुल हुन ढिलाइ हुनु र मौज्दात बढ्दै जानुले कार्यशील पुँजीमा थप दबाब सिर्जना गरेको छ।

अर्कोतर्फ, कम्पनीको आम्दानी अझै पनि मुख्य रूपमा फोर्डका रेन्जर र एभरेष्ट तथा काइयीका मोडलहरूमा केन्द्रित रहेकाले उत्पादन विविधीकरणको जोखिम कायम छ। मध्यम मूल्य वर्गका सवारीसाधनमा कम्पनीको उपस्थिति कमजोर रहँदा टोयोटा, मित्सुबिसीलगायत स्थापित ब्रान्डसँगको प्रतिस्पर्धा थप चुनौतीपूर्ण बनेको छ।

साथै, हालै बजारमा ल्याइएका नयाँ विद्युतीय सवारीसाधनले अपेक्षित व्यापार र नाफा दिलाउन सक्छन् वा सक्दैनन् भन्ने विषय अझै परीक्षणकै चरणमा रहेकाले तिनको व्यावसायिक सफलता पनि कम्पनीको आगामी वित्तीय अवस्थाका लागि महत्वपूर्ण हुने देखिएको छ।

यद्यपि, कम्पनीले विद्युतीय सवारीसाधन बजारलाई आगामी वृद्धिको प्रमुख आधारका रूपमा लिएको छ। काइयीसँगै भारतमा एसेम्बल भएका एमजीका नयाँ विद्युतीय मोडल बजारमा ल्याइएकाले बढ्दो विद्युतीय सवारी मागबाट कम्पनीले लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

सरकारले विद्युतीय सवारीमा कर तथा वित्तीय सहुलियत केही घटाए पनि पेट्रोलियम सवारीको तुलनामा सञ्चालन खर्च कम हुने भएकाले विद्युतीय सवारीको माग निकट भविष्यमा बलियो रहने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्