धितोपत्र बोर्डको १० वर्षे गुरुयोजना सार्वजनिक: सेयर बजारलाई अर्थतन्त्रको बलियो खम्बा बनाउने लक्ष्य « Arthapath.com
३१ असार २०८३, बुधबार

धितोपत्र बोर्डको १० वर्षे गुरुयोजना सार्वजनिक: सेयर बजारलाई अर्थतन्त्रको बलियो खम्बा बनाउने लक्ष्य



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारलाई मुलुकको आर्थिक विकासको दोस्रो बलियो खम्बा बनाउने लक्ष्यका साथ १० वर्षे रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको ’नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ ले आगामी सन् २०३६ सम्म बजारको आकार दोब्बर पार्ने र सेयर बजारलाई पूर्ण प्रविधिमैत्री बनाउने महत्वकाङ्क्षी योजना अघि सारेको हो ।

यो नयाँ मार्गचित्र अनुसार अबको १० वर्षमा नेपालको सेयर बजारको कुल पूँजीकरण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १५० प्रतिशतभन्दा बढी पुर्‍याइनेछ । हाल यो अनुपात करिब ७० देखि ८० प्रतिशतको हाराहारीमा सीमित छ । यसैगरी दैनिक औसत सेयर कारोबारलाई हालको ८ अर्ब रुपैयाँबाट बढाएर ३० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य बोर्डले राखेको छ ।

बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले यो मार्गचित्र केवल वित्तीय क्षेत्र सुधारको दस्तावेज मात्र नभई निजी क्षेत्रको सशक्तीकरण, नवप्रवर्तन र लगानी विस्तारको रणनीतिक साधन भएको बताएका छन् । परम्परागत बैंकिङ प्रणाली र अहिलेको अवस्थामा रहेको सेयर बजार मात्रै देशको तीव्र विकासका लागि पर्याप्त नहुने हुँदा पूँजी बजारलाई नयाँ गति दिन आवश्यक भएको भट्टको भनाइ छ ।

१० वर्षे गुरुयोजनामा हाल २९७ रहेको सूचीकृत कम्पनीहरूको संख्यालाई बढाएर ५०० भन्दा बढी पुर्‍याउने योजना छ । साना तथा मझौला उद्योग (एसएमई) का लागि छुट्टै एसएमई प्लेटफर्म बनाएर कम्तीमा २०० वटा साना कम्पनीलाई बजारमा भित्र्याइने लक्ष्य यसमा समेटिएको छ । यसैगरी हाल करिब ८० लाखको हाराहारीमा रहेको डिम्याट खाता संख्यालाई १ करोड २० लाख नाघाउने र म्युचुअल फण्डका योजनाहरू १५० भन्दा बढी पुर्‍याउने तयारी बोर्डको छ ।

नेपाली सेयर बजारलाई आधुनिक र सुरक्षित बनाउन नवीनतम प्रविधिको प्रयोगलाई मार्गचित्रमा विशेष प्राथमिकता दिइएको छ । बजारमा गैरकानूनी रूपमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र कृत्रिम मूल्य उतारचढाव रोक्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बिग डाटामा आधारित बजार निगरानी प्रणाली (सुपरभिजन) लागू गरिनेछ । यसले बजारको निष्पक्षता र सुरक्षा बलियो बनाउने विश्वास गरिएको छ ।

अबको बजार केवल साधारण सेयरमा मात्र सीमित रहने छैन । मार्गचित्रले रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी), एक्सचेन्ज ट्रेडेड फण्ड (ईटीएफ), डेरिभेटिभ्स, कमोडिटी एक्सचेन्ज र ग्रीन बण्ड जस्ता बहुआयामिक वित्तीय उपकरणहरू बजारमा उपलब्ध गराउने योजना अघि सारेको छ । लगानीकर्ताले चाँडै नै सेयर बजारमा इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेलिङ र सेयर सापटी दिने–लिने (एसएलबी) जस्ता सुविधाहरू पनि पाउनेछन् ।

बजारलाई स्थायित्व दिन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थागत लगानीकर्ताको लगानीलाई विविधीकरण गरिनेछ । साथै, गैरआवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाई समेत दोस्रो बजारमा चरणबद्ध रूपमा भित्र्याइनेछ ।

हाल नेपालमा मेरो सेयर खाता संख्या ७० लाख नाघेको छ भने दोस्रो बजारमा सेयर किनबेच गर्ने सक्रिय कारोबार खाता संख्या ३४ लाख ६६ हजार पुगेको छ । पूँजी बजारले विगत तीन दशकमा परिमाणात्मक फड्को मारे पनि अब यसलाई गुणात्मक रूपमा परिपक्व र विश्वस्तरीय बनाउन यो नयाँ मार्गचित्र कोशेढुङ्गा सावित हुने बोर्डको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्