समुद्रमै थुनिए रुसी जहाज, युक्रेनले ११६ जहाजमाथि आक्रमण गरेपछि रुसले भन्यो- ‘सरासर आतंकवाद’ « Arthapath.com
३१ असार २०८३, बुधबार

समुद्रमै थुनिए रुसी जहाज, युक्रेनले ११६ जहाजमाथि आक्रमण गरेपछि रुसले भन्यो- ‘सरासर आतंकवाद’



एजोभ सागरमा युक्रेनी ड्रोन आक्रमण तीव्र बनेपछि रुसले आफ्ना व्यावसायिक जहाजहरू निशानामा परेको भन्दै युक्रेनमाथि आतंकवादको आरोप लगाएको छ भने अन्न निर्यात प्रभावित हुने खतरा बढेको छ।

काठमाडौँ । मंगलबार युक्रेनले एजोभ सागर (कृष्ण सागर अर्थात् ब्ल्याक सीदेखि उत्तरपूर्वमा रुस र युक्रेनको सीमामा पर्ने सानो सागर)मा चल्ने जहाजहरूमाथि आक्रमण बढाएर रुसले ‘आतंकवाद फैलाएको’ आरोप लगाएको छ। यो जलमार्ग रुसको कुल अन्न निर्यातको झन्डै एक चौथाइ हिस्सा ओगट्ने निकै महत्त्वपूर्ण मार्ग हो।

युक्रेनको ड्रोन सैन्य बलका कमान्डर रोबर्ट ब्रोभ्दीले सामाजिक सञ्जाल टेलिग्राममार्फत एक वक्तव्य जारी गर्दै युक्रेनी ड्रोनहरूले रातभरमा मात्रै ११ वटा रुसी जहाजहरूमाथि निशाना बनाएको बताए।

उनका अनुसार ती निसानामा पाँचवटा तेल ट्याङ्कर, पाँचवटा सुख्खा सामान बोक्ने जहाज (ड्राई कार्गो) र एउटा टगबोट परेका छन्। योसँगै पछिल्लो नौ दिनमा आक्रमणमा परेका रुसी जहाजहरूको संख्या ११६ पुगेको उनले दाबी गरे।

यद्यपि, यो प्रतिवेदनमा अन्न बोक्ने जहाजहरूमाथि नै आक्रमण भएको हो वा होइन भन्ने स्पष्ट खुलाइएको छैन। तर हिजो र अस्ति केही अन्न बोक्ने जहाजहरूमाथि आक्रमण भएको र तिनमा आगो लागेको रोयटर्सले उल्लेख गरेकोछ ।

यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनको यो कदम समुद्री डकैती (पाइरेसी) भन्दा पनि अगाडि बढेको टिप्पणी गरे। उनले समुद्री डाकाहरूले कम्तीमा लुटेर सामान आफूसँग राख्ने गरे पनि युक्रेनको यो कदमबाट कसैलाई फाइदा नपुग्ने र यसको उद्देश्य केवल क्षति पुर्‍याउनु र त्रसित बनाउनु मात्रै रहेको बताए। लाभरोभले यसलाई सरासर आतंकवादको संज्ञा दिए।

अर्कोतर्फ युक्रेनी सैन्य स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ– युक्रेनी सशस्त्र बलले केवल सैन्य अखडा वा रुसको युद्ध क्षमता बढाउन सहयोग पुर्‍याउने संरचनाहरूमा मात्रै आक्रमण गरेको छ। गैरसैन्य वा नागरिक सामान बोक्ने जहाजहरू आफ्नो निसानामा नरहेको दाबी गर्दै उक्त स्रोतले गरेको छ ।

रुसले गत वर्षको अन्त्यदेखि युक्रेनका कृष्ण सागर (ब्ल्याक सी) मा रहेका बन्दरगाहहरूमा आक्रमण तीव्र बनाएको छ र युक्रेनी अधिकारीहरूका अनुसार ओडेसा क्षेत्रका बन्दरगाहहरूको मासिक अन्न निर्यात क्षमता एक तिहाइले घट्न सक्ने अवस्था छ।

एजोभमा आवतजावत ठप्प

रोयटर्सका अनुसार मंगलबार पनि एजोभ सागरमा जहाजहरूको आवतजावत बन्द नै रह्यो। यो सागर डन नदीको मुखमा अवस्थित छ, जुन रुसको मुख्य दक्षिणी अन्न उत्पादक क्षेत्र भएर बग्छ। यस मार्गमा मुख्यतया साना र तटीय क्षेत्रमा चल्ने जहाजहरू सञ्चालन हुने गर्छन्।

व्यापारिक जहाजहरू एजोभ सागर र डन नदीलाई जोड्ने एजोभ-डन च्यानलबाट न त भित्र छिर्न सकेका छन्, न त बाहिर नै आउन सकेका छन्। हालैका महिनाहरूमा युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरू, इन्धन भण्डारहरू, बन्दरगाहहरू र अन्य ऊर्जा पूर्वाधारहरूमा शृङ्खलाबद्ध आक्रमणहरू गरेको छ, जसका कारण रुसभर इन्धनको अभाव सिर्जना भएको छ र निर्यातमा अवरोध पुगेको छ।

रुसको कृषि मन्त्रालय वा यातायात मन्त्रालयले एजोभ सागरको यातायात ठप्प भएको कुरालाई आधिकारिक रूपमा पुष्टि त गरिसकेका छैनन्। तर, कृषि मन्त्रालयले मंगलबार निर्यातलाई अन्य मार्गहरूमा मोड्न सकिने कुरा भने स्वीकार गरेको छ।

निर्यात मार्ग परिवर्तन गरिने

कृषि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुससँग विभिन्न क्षेत्रहरूबाट कृषिजन्य सामानहरू निर्यात गर्ने ठूलो क्षमता भएकाले आवश्यक परेको खण्डमा ढुवानीको मार्ग परिवर्तन गरिने जनाएको छ।

अन्न निर्यातकर्ताहरूले कृष्ण सागरमा रहेका गहिरा पानीका टर्मिनलहरू वा बाल्टिक सागरका बन्दरगाहहरूबाट ढुवानी मार्ग परिवर्तन गर्न सकिने बताएका छन्, यद्यपि तीमध्ये क्षेत्रमा पनि युक्रेनी ड्रोनले आक्रमण गरिसकेका छन्।

मन्त्रालयले यसो गर्दा रुसले आफ्नो निर्यातको प्रतिबद्धतालाई कायम राख्न सक्ने बताएको छ। रुसको अन्न निर्यातकर्ता तथा उत्पादक संघले पनि एजोभ सागरको विषम परिस्थितिका बाबजुद रुसले आफ्ना विदेशी साझेदारहरूसँग गरेको अन्न निर्यातको प्रतिबद्धता पूर्ण रूपमा पूरा गर्ने स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्