डेढ महिनापछि उकालो लाग्यो बीटक्वाइनको भाउ, सुन र पेट्रोलियममा के असर पर्ला ?

काठमाडौं । अभौतिक मुद्रा बीटक्वाइनको मूल्यमा देखिएको भारी गिरावट रोकिएको छ । हिजो सोबार अन्तररासष्ट्रिय बजारमा यो क्रिप्टोकरेन्सीको मूल्य ६ सातायताकै उच्च भएको छ । आजको बजारमा मूल्य केही घटिरहे पनि यो गत साताको तुलनामा अझै २५ प्रतिशत नाफामै छ । दुई दिनअघि यो भर्चुअल मुद्राको भाउ ३९ हजार ५०० डलर नाघेको थियो ।
यो समाचार तयार पार्दासम्म बीटक्वाइनको मूल्य ३७ हजार डलर हाराहारीमा आएको छ । बीटक्वाइनसँगै इथेरम, बिनान्स क्वइन, कार्डानो, रिप्पलजस्ता अधिकांश क्रिप्टोकरेन्सीको मूल्य बढिरहेको छ ।
क्वाइनमार्केटक्यापका अनुसार अहिले संसारभरको क्रिप्टोकरेन्सी बजार पूँजीकरण १४ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर छ । जसमध्ये करीब ४८ प्रतिशत हिस्सा बीटक्वाइन एक्लैले ओगट्छ । अहिले प्रयोगमा रहेका करीब ५ हजार ८०० यस्ता अभौतिक मुद्रामध्ये आधा बजार हिस्सा बीटक्वाइनकै भएकाले उसको बजार मूल्यप्रति बढी चासो रहन्छ ।
बीटक्वाइनसहित अभौतिक मुद्राहरुको बजार ओरालो लाग्न थाल्दा केही समययता सुनको भाउ बढ्न थालेको थियो । सट्टेबजारमा लगानी गर्ने संसारभरका लगानीकर्ताका लागि यसअघि शेयर बजारपछि अमेरिकी ऋणपत्र, सुन र कच्चातेल (पेट्रोलियम) प्रमुख विकल्प मानिन्थे । त्यही प्रतिस्पर्धात्मक भीडमा अहिले क्रिप्टोकरेन्सी पनि मिसिएको छ ।
अव यस्ता अभौतिक मुद्राको बजारले मूलतः सुनको भाउलाई प्रभावित पार्ने हैसियत बनाएको छ । केही समययता लगातार ओरालो लागेको क्रिप्टोकरेन्सीको बजार बढ्दा थालेमा यसले सुनको मूल्य घटाउन दबाब पर्न सक्छ । अन्तरराष्ट्रिय बजारमा पछिल्लो १३ दिनयता सुनको भाउ घट्दो क्रममा नै छ ।
तर नेपाली बजारमा भने मूल्य निर्धारणका लागि अमेरिकी डलरको विनिमय दरले समेत प्रभाव पार्ने गर्छ । यही कारण बाह्य बजारमा घटेको मूल्यको लाभ हामीले पूर्णतः उठाउन पाउँदैनौं ।