जनता एग्रोमा संस्थागत लगानीकर्ताबाट ५ करोड थपिँदै, आईपीओ तयारी तीव्र
काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को तयारीमा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडमा संस्थागत लगानीकर्ताबाट ५ करोड रुपैयाँ थपिने भएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले संस्थागत लगानी स्वीकृत गर्दै कम्पनीको पुँजी पुनःनिर्धारण गर्ने प्रस्ताव पारित गरेको हो।
विशेष साधारणसभाले पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिलाई संस्थापक समूहको जगेडा शेयरबाट प्रतिकित्ता १२५ रुपैयाँका दरले २/२ लाख कित्ता शेयर उपलब्ध गराउने निर्णय गरेको छ। यससँगै दुवै कम्पनीको संयुक्त लगानी ५ करोड रुपैयाँ पुग्नेछ।
२ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको जनता एग्रोले न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई विशेष साधारणसभाले अख्तियारीसमेत दिएको छ।
यसअघि २०८२ मंसिरमा सम्पन्न साधारणसभाले आईपीओ जारी गर्ने निर्णय गरेको थियो। कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड तथा क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्सलाई नियुक्त गरिसकेको जनाएको छ।
विशेष साधारणसभाले कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रचलित मापदण्ड र सुशासनसम्बन्धी व्यवस्था अनुरूप नियमावलीको नियम २७(३) संशोधन गरी सञ्चालक समितिमा दुई स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष पवनकुमार गोल्याणले आईपीओपछि कम्पनीको यात्रा अझ सुदृढ र उत्तरदायी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्राकृतिक स्रोत र मानव क्षमतालाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने लक्ष्य रहेको बताउँदै करार खेतीमार्फत किसानलाई सुनिश्चित बजार उपलब्ध गराउने योजना रहेको जानकारी दिए।
कम्पनीकी बिजनेस एक्सिलेन्स तथा स्ट्राटेजी प्रमुख अंकिता बगेडियाले जनता एग्रोको प्राथमिकता केवल व्यवसाय विस्तार नभई दिगो र मापनयोग्य मूल्य सिर्जना गर्ने एकीकृत कृषि प्रणाली विकासमा रहेको बताइन्। उनका अनुसार किसान, आधुनिक प्रशोधन, जिम्मेवार लगानी र नेपाली ब्रान्डलाई एउटै मूल्य शृंखलामा जोडेर स्थानीय उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापन तथा दीर्घकालीन वृद्धि हासिल गर्ने लक्ष्य कम्पनीको रहेको छ।













