कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा



काठमाडौं । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले अबदेखि चौँरी र याकको बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन ।

ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याङ्मा हिउँ चितुवा, ब्वाँसो र हिमपहिराका कारणले किसानको ठूलो आर्थिक क्षति हुनबाट बच्नका लागि पशुबीमा कार्यक्रम सुरु गरिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने यी क्षेत्रमा पशु बीमाका लागि नेको इन्स्योरेन्स फिदिम शाखाका प्रमुख जयराम बाँस्कोटाका अनुसार पहिलो चरणमा गएको हप्ता ओलाङ्चुङ्गोलामा तीन सय ८३ वटा चौँरीको बीमा गरिएको छ । ओलाङ्चुङ्गोला बस्ती वरिपरि र माथिल्लो गोठ क्षेत्रमा रहेको याक र चौँरीहरुको बीमा गरिएको उनले बताए ।

ओलाङचुङ्गोलाकै याङ्मा, फक्ताङलुङ गाउँपालिकाको घुन्सा र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पशुहरुको बीमा गर्नका लागि नेको बीमा कम्पनीले सुरुवात गरेको हो । अहिले ओलाङचुङ्गोलामा करिब चार सय ५० ओटा, याङ्मा क्षेत्रमा पाँच सय, घुन्सा क्षेत्रमा चार सय र याम्फुदिन क्षेत्रमा करिब दुई सय गरी कञ्चनजङ्घा संरक्षण क्षेत्रमा करिब एक हजार नौ सय पशुपालन रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत सञ्चालनमा रहेको समृद्ध कञ्चनजङ्घाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले बताइन् ।

चित्राकुमारीका अनुसार पशुबीमा कार्यक्रमका लागि सो परियोजनामार्फत प्रति पशु २०० को दरले प्राविधिक खर्च उपलब्ध गराएको छ । विगतमा सो क्षेत्रमा पशुबीमाका लागि बीमा कम्पनीहरु जान मानेको थिएन । यो परियोजनाले आर्थिक वर्ष २०७९/८० मा सात सय वटा पशुका लागि बीमामा प्राविधिक सहयोग गर्ने र आगामी दिनमा यो सहयोग निरन्तर रहने परियोजनाले जनाएको छ ।

नेको इन्स्योरेन्सका अनुसार ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र याम्फुदिन क्षेत्रमा पनि थप बीमा गरिनेछ तर त्यसका लागि कति सङ्ख्यामा पशुपालक किसानले बीमा गर्छन् । त्यसअनुसार मात्र काम गरिने कम्पनीको योजना छ । ठूलो सङ्ख्यामा पशुहरु बीमा गरेको खण्डमा मात्रै त्यहाँसम्म पुगेर बीमा गरिने योजना रहेको कम्पनीले जनाएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बूका अनुसार हाल पशुबीमा गर्दा जम्मा लाग्ने बीमा शुल्कको ८० प्रतिशत नेपाल सरकारले र बाँकी २० प्रतिशत मात्रै कृषकले तिनुपर्छ । औषतमा एक लाख बीमाङ्कको पशुको बीमा शुल्क रु पाँच हजार हुन आउँछ सो शुल्कमा ८० प्रतिशत सरकारले तिरिदिने भएपछि लगभग रु एक हजार बीमा शुल्क तिरेमा एउटा पशुको एक लाखको बीमा हुन्छ ।


बीमा कम्पनीका अनुसार बीमा गरिएको पशुहरु जुनसुकै कारणले मरेको खण्डमा बीमाङ्क वापतको रकम कृषकले पाउने छ । बीमा शुल्क वार्षिक रुपमा बुझाउनुर्छ । बीमा नबुझाएमा स्वतः समय पुगेपछि बीमा निक्रिय हुने छ । पशु मरेको अवस्थामा पनि दाबी गर्नका लागि धेरै झन्झट पनि हुँदैन । स्थानीय मुचुल्का, वडाको सिफारिस, फोटो र भिडियो र कम्पनीको ‘ट्याक’ भए पुग्ने कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्