आयात १६.२ प्रतिशत र निर्यात ३५.७ प्रतिशतले घट्यो, कुल वस्तु व्यापार घाटामा १३ प्रतिशतको गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले कमी आएको छ । चालु आवको असोज मसान्तसम्ममा कुल वस्तुको निर्यात ४१ अर्ब ८२ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आवको तीन महिनामा देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै, चालु आवको तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी देखिएको छ । उक्त अवधिमा ४ खर्ब १ अर्ब रुपैयाँ बराबरको कुल वस्तु आयात भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
चालु आव तीन महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई ३ खर्ब ५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी .३४ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४ अर्ब १७ करोड रुपैयाँ बराबरको भएको थियो ।
















