नेप्सेका ठूला ५० कम्पनी छानेर नेप्से फिफ्टी इण्डेक्स बनाउने प्रक्रिया अघि बढ्यो, तर सजिलो छैन इण्डेक्स कारोबार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेप्सेका ठूला ५० कम्पनी छानेर नेप्से फिफ्टी इण्डेक्स बनाउने प्रक्रिया अघि बढ्यो, तर सजिलो छैन इण्डेक्स कारोबार



काठमाडौं । नेप्सेमा सूचीकृत भएकामध्ये उत्कृष्ट ५० कम्पनीको सूची बनाएर अलग्गै बेञ्चमार्क इण्डेक्स तयार गर्ने भएको छ । यसबारे एक दशक अघिदेखि प्रक्रिया सुरु भएको भए पनि अहिले काम अघि बढ्ने छाँट देखिएको छ ।

नेप्सेको सञ्चलक समितिले एक चरण यसबारे छलफल गरिसकेको र आफूहरु सैद्धान्तिक रुपमा पूर्णतः तयारी हालतमा भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् । उक्त बेञ्चमार्क इण्डेक्सलाई ‘नेप्से फिफ्टी’ नाम दिइने छ ।

नेपाली धितोपत्र बजारमा अहिलेसम्म सेयर बाहेक अन्य उपकरणको खासै कारोबार हुँदैन । थोरै सामुहिक लगानी कोषको कारोबार भए पनि यसलाई धेरैले अहिलेसम्म सेयरकै रुपमा बुझ्ने गरेका छन् । ओटीसी मार्केटको विकास हुन सकेको छैन भने ऋणपत्रको कारोबार गराउने कुरा पनि कुरैमा सीमित छ । यही बेला नेप्सेले नयाँ बेञ्चमार्क इण्डेक्स सुरु गर्ने भनेको छ ।

सामान्यतया इण्डेक्स भनेको बजार घट्यो की बढ्यो भनेर जानकारी लिने सूत्रमात्रै हो । तर यस्ता इण्डेक्सलाई धितोपत्र बजारको अलग्गै प्रडक्टको रुपमा पनि लिने गरिएको छ । सेयर, म्युचुअल फण्डको एकाईजस्तै इण्डेक्सलाई पनि धितोपत्र बजारमा सूचीकृत गरेर कारोबार गराउन सकिन्छ । अहिले ल्याउन लागिएको नेप्से फिफ्टि पनि त्यस्तै प्रडक्टको रुपमा ल्याउन लागिएको हो ।

यसका लागि नेप्सेले निश्चित मापदण्ड तयार पार्ने छ । सेयरधनिको संख्या, बजार पूँजीकरण, लाभांशको प्रबृत्तीजस्ता निश्चित मापदण्ड पुरा गर्ने मुख्य ५० कम्पनीलाई उक्त इण्डेक्सको डालोमा राखिने छ । संसारभर नै यसरी नै इण्डेक्स तयार गरिन्छ । उदाहरणका लागि डाउजोन्स इण्डस्ट्रियल इण्डेक्समका ३० वटा कम्पनीलाई लिइएको छ । अमेरिकामा एस एण्ड पी ५०० भनेर सूचीकृत मुख्य ५ सय कम्पनीलाई लिइएको छ । लण्डन स्टक एक्सचेञ्जमा ‘एफटीएसई हण्ड्रेड’ भनेर १०० वटा कम्पनीलाई लिने गरिएको छ । भारतीय नेशनल स्टक एक्सचेञ्जले पनि ठूला ५० कम्पनीको बेञ्चमार्क इण्डेक्स ‘निफ्टी फिफ्टी’ चलाइरहेको छ ।

स्टक एक्सचेञ्जहरुले आफ्नो उद्देश्य र प्रयोजनका आधारमा कति वटा र कुनकुन कम्पनी राख्ने भनेर यस्ता सूचकांकक (इण्डेक्स)हरु तयार पार्छन् । यसैलाई फेरी स्टक एक्सचेञ्जमै सूचिकृत गरेर कारोबार गर्न सकिन्छ । नेपालमा दशक अघिदेखि नै यस किसिमको इण्डेक्स सुरु गर्ने कुरा चलेको थियो । तर बजारको आकार, संस्थागत संरचना, नीति नियम र बजारले त्यसलाई धान्न सक्छ की सक्दैन भन्ने कुराहरुले वर्षौंदेखि यो योजना अलपत्र परेको थियो ।

त्यसो त, सीडीएससी ५० कै दशकमा ल्याउने भने पनि लागू गर्न २०७२ सालसम्म कुर्नु पर्यो । बजारलाई विकसित गर्न धेरै काम बाँकी भएको र त्यसमध्ये एउटा बेञ्चमार्क इण्डेक्स पनि भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । ‘यसका लागि नेप्सेले एउटा इण्डेक्स डिजाइन गर्नुपर्छ । हामी सैद्धान्तिक रुपमा यसका निम्त स्पष्ट छौं’, उनले भने, ‘तर व्यवहारमा उत्रिने बेला हामीलाई सूचीकृत कम्पनीदेखि नियामक निकायहरुको सहायता चाहिन्छ ।’

नेप्सेले जुन डिजाइन बनाउँछ, त्यसलाई अवलम्बन गर्न कम्पनीहरु तयार हुनुपर्छ । इण्डेक्स समायोजन गर्नुपर्ने हुँदा कम्पनीहरुले लाभांश घोषणा गर्दा बढी स्पष्ट हुनुपर्ने जरुरी हुन्छ । पछि सच्याउने र थपघट गर्ने कुराले बजारलाई प्रभावित पार्छ । कम्पनीहरुले परिपक्व निर्णय गर्नुपर्ने आवस्यकता छँदै छ, साथमा नेपाल राष्ट्र बैंक वा बीमा प्राधिकरण जस्ता नियामकले कम्पनीहरुको लाभांश प्रस्ताव नै हेरफेर गरिदिने गरेका छन् । यस्ता कुराले पनि बजारलाई प्रभावित पार्ने भएकाले बेञ्चमार्क इण्डेक्सको कारोबार सुरु गर्नुअघि वित्तीय क्षेत्रका नियामकहरु बढी सजग हुनुपर्ने जानकार बताउँछन् ।

अर्कातिर धितोपत्र सम्बन्धी ऐनले अहिलेसम्म इण्डेक्सलाई धितोपत्र नै मानेको छैन । त्यस कारण ऐन संशोधन नगरी यस खाले इण्डेक्सको कारोबार हुन सम्भव छैन । यसका लागि लगानीकर्ता पनि तयार हुनुपर्ने प्रवक्ता पराजुली बताउँछन् । नेपाली लगानीकर्ताले अहिलेसम्म साधारण सेयर र म्युचुअल फण्डलाई चिनेका छन् । ऋणपत्र र डिबेञ्चर पनि चिनेका छन् । तर इण्डेक्स चिनेका छैनन् ।

‘आज मैले इण्डेक्स किनेँ भने के पाउँछु ? सेयरमा जस्तो लाभांश र ऋणपत्रमा जस्तो ब्याज इण्डेक्सका लगानीकर्ताको हातमा आउँदैन’, पराजुली भन्छन्, ‘लगानीकर्तालाई यो कुरा बुझाउने र उनीहरुमा ग्रहणशीलता विकास गर्न नेप्सेले भूमिका खेल्नु पर्छ ।’ नेप्सेले नै यस कुराको अग्रसरता लिएकाले लगानीकर्तालाई बुझाउने दायित्व नेप्सेकै हुने उनी बताउँछन् ।

इण्डेक्सको कारोबार सञ्चालनका लागि यसमा लगानी गर्ने कम्तिमा एउटा समूह आवस्यक हुन्छ । लगानीकर्ताले कारोबार नै गरेनन् भने यो इण्डेक्स ल्याएको अर्थ हुँदैन । प्रतिफल वा ब्याज नआउने हुँदा इण्डेक्सको कारोबारबाट लगानीकर्ताले पूँजीगत लाभमार्फत् मात्रै कारोबार गर्नु पर्ने हुन्छ । यो एक किसिमको विद्युतीय जुवा नै हो । उदाहरणका लागि आज नेप्से १९०० अंकमा छ र भोलि २००० अंकमा पुग्यो भने लगानीकर्ताले १०० रुपैयाँ कमाउँछ । भोलि यस्तो इण्डेक्स १८०० मा झर्यो भने लगानीकर्ताको १०० रुपैयाँ खेर जान्छ ।

अर्कातिर अहिले सामूहिक लगानी कोषजस्तै इण्डेक्स फण्डहरुले पनि लगानी गर्न यस खालको इण्डेक्सको आवस्यकता हुन्छ । कोष व्यवस्थापकहरुले यस्ता बेञ्चमार्क इण्डेक्समा जुन कम्पनीको जति भार छ, त्यति नै अनुपातमा लगानी गर्न सक्छन् । यसरी इण्डेक्सलाई पच्छ्याउने वा त्यसै रुपमा लगानीको निर्णय लिने अवसर सिर्जना गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्