इनसाइडर कारोबारमा सेबोनको विभेद, कमजोरलाई छडी लगाउनेले किन छोएनन् रुंगाटा र पौडेलका फाइल ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

इनसाइडर कारोबारमा सेबोनको विभेद, कमजोरलाई छडी लगाउनेले किन छोएनन् रुंगाटा र पौडेलका फाइल ?



काठमाडौं । सर्वाेत्तम सिमेण्टको इनसाइडर ट्रेडिङ भएको भनेर धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानाको जागिर गयो । नेप्सेका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले एकाघरपरिवारको सदस्यको नाममा सेयर राखेको भनेर राजिनामा दिनु पर्यो । त्यही लहरोमा स्वार्थ बाझिने गरी धितोपत्र बोर्डको सञ्चालक भएको भनेर नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजिनामा दिनु पर्यो ।

धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजको विराटनगर शाखा प्रमुखले सिभिल बैंकको साधारण सभा आह्वान हुनुअघि नै ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भन्दै लगानीकर्तालाई प्रेरित गरेको भनेर २०७४ मै ७५ हजार रुपैयाँ जरिवाना गरेको थियो । अहिले पनि गत मंसिर २५ मा बसेको बोर्डको सञ्चालक समिति बैठकले नेपालमा जलविद्युत्का ठूला हस्ति मानिएका गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही अघि बढाएको छ ।

न्यौपानेले आफू रिडी हाइड्रोपावर कम्पनीको अध्यक्ष रहेकै बेला २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म त्यही कम्पनीको सेयर किनेका थिए । ज्ञानेन्द्रले आफू नेपाल हाइड्रोपावरको अध्यक्ष रहेकै समयमा श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन र छोरी निभिता प्रधानको नाममा सेयर कारोबार गरेको भनेर सेबोनले कारबाही अघि बढाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले बहाल रहँदा र पदबाट अवकाश लिएको पनि एक वर्षपछि सम्म संस्था वा त्यसका सहायक कम्पनीको सेयर किनबेच वा हस्तान्तरण गर्न नपाउने भनेको छ ।

तर प्रधान र न्यौपानेसँगै कारबाहीका लागि नेप्सेले सिफारिस गरेका अनीलकुमार रुंगाटा र अम्बिकाप्रसाद पौडेललाई भने धितोपत्र बोर्डले कारबाही अघि बढाएको छैन । भीष्मराज ढुंगाना अध्यक्ष भएकै बेलामा नेप्सेबाट दुई जलविद्युत् सहित शिवम् सिमेण्ट, अजोड इन्स्योरेन्स र नेपाल टेलिकमको सेयरमा इनसाइडर कारोबार भएको भन्दै छानबिन र कारबाहीका लागि सिफारिस प्राप्त भएको धितो पत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार अजोड इन्स्योरेन्समा कुमारी बैंक र उसको मर्चेण्ट बैंकरले अजोडको शेयरमा आन्तरिक सूचनाका आधारमा कारोबार गरेको नेप्सेले पढाएको पत्रमा उल्लेख छ । यसमा विशेषगरी अनिलकुमार रुंगाटा संकास्पद मानिएका छन् । भीष्म ढुंगामा राष्ट्र बैंकमा हुँदा उनलाई कुमारी बैंक र रुंगाटाले ठूलै गुन लगाएका थिए । त्यसैको बदलामा ढुंगानाले यो फाइल तामेलीमा राखिदिएको सेबोन स्रोतको दाबी छ ।

रुंगाटा नेपाली कांग्रससँगको निकट सम्बन्धका कारण हालका अध्यक्ष हमालले पनि उनलाई छुन सकिरहेका छैनन् । अनिल रुंगाटा र शंकर समूहबीचको ब्यावसायिक साझेदारी छ । शंकर समूहसँग निकटवर्ति देखिएका हमालले यस कारण पनि रुंगाटाको फाइल अघि बढाउन छाडेर कमजोर पर्फरमेन्स भएका जलविद्युत् उद्यमीहरुलाई मात्रै कारबाही प्रक्रिया अघि बढाएको सेबोनका एक अधिकारीले बताए ।

टेलिकमको सेयरमा भने सञ्चालक अम्बिकाप्रसाद पौडेलको प्रत्यक्ष संलग्नता देखिएको छैन । तर उनकै पारिवारिक दायराभित्रका थुप्रै पौडेल ससुरालीतर्फका नातेदारको नाममा सेयरको कारोबार भएको देखिएको थियो । उनीहरुको सम्बन्ध खुट्याएर अनुसन्धान गर्न भने पनि तत्कालिन अवस्थामा धितोपत्र बोर्डको सञ्चालक रहेका चन्द्र ढकालले उनलाई संरक्षण दिलाएका थिए । अहिले ढकाल बाहिरिए पनि उनीहरुको समूहले वित्तीय बजारमा ठूलो हैसियत बनाएकाले हमालले यो फाइल पनि खोलिहाल्ने आँट गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्