२ अर्ब ८६ करोडको विद्युतीय सवारी आयात, एक महिनामै थप ३१३ वटा गाडी नेपाल भित्रियो « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

इलेक्ट्रिक गाडीमा बढ्दो क्रेजः

२ अर्ब ८६ करोडको विद्युतीय सवारी आयात, एक महिनामै थप ३१३ वटा गाडी नेपाल भित्रियो



काठमाडौं । एक महिनामै थप ३१३ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को चार महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार चार महिनामा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । जुन गत असोजको तुलनामा ४२.८१ प्रतिशतले बढी हो । एक महिनामै थप ८५ करोड ८४ लाखको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।

चालु आवको असोज मसान्तसम्ममा भने २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरको ७०५ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको थियो ।

सरकारले विद्युतबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न भन्सार राजश्वमा छुट दिएसंगै यसप्रतिको आकर्षण निरन्तर वृद्धि भएको हो । विद्युतीय सवारीमा सरकारले दिएको प्रोत्साहनसंगै इलेक्ट्रिक कार, जीप, भ्यानको ब्याट्री चार्ज गर्न मिल्ने चार्जिङ स्टेशनको सुविधा पनि वृद्धि हुँदै गएको छ ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको विभागले जनाएको छ । चालु आवको कात्तिक मसान्तसम्ममा १ हजार १८ वटा विद्युतीय सवारी आयात भएको छ । विद्युतीय गाडी आयातबाट सरकारले ८५ करोड ६२ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी भारतबाट विद्युतीय सवारी नेपाल आएका छन् । कात्तिक मसान्तसम्ममा १ अर्ब ८५ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरका इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । भारतबाट चार महिनामा ६८९ वटा विद्युतीय गाडी आयात भएको हो । भारतबाट एक महिनामा थप ५१ करोड ४५ लाख बढीको विद्युतीय सवारी नेपाल भित्रिएको विभागले जनाएको छ । कात्तिक मसान्तसम्ममा भारतबाट १०० किलोवाट तौल क्षमताका विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।

यस्तै, कोरियाबाट ५९ करोड ९८ लाख ७७ हजार रुपैयाँ बराबरको १५५ थान विद्युतीय सवारी आयात भएको छ । कोरियाबाट १०० किलोवाट तौल क्षमताका १३९ र १०० देखि २०० किलोवाटका १६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागको तथ्याङ्ककामा उल्लेख छ ।

त्यसैगरि छिमेकी मुलुक चीनबाट भने कात्तिक मसान्तसम्ममा ३८ करोड १२ लाख ५८ हजार रुपैयाँ बराबरका १६९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

यता, अमेरिकाबाट भने २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरका ४ वटा १०० देखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात साउनमा ६२ करोड १६ लाख ८३ हजार, भदौमा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्