कमसल पार्टपूर्जा हालेर यामाहाले ल्यायो नयाँ भेरियण्टको बाइक, मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दाको परिणाम « Arthapath.com
२५ आश्विन २०८०, बिहीबार

कमसल पार्टपूर्जा हालेर यामाहाले ल्यायो नयाँ भेरियण्टको बाइक, मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दाको परिणाम



काठमाडौं । बजारमा मूल्यको प्रतिष्पर्धा गर्न कठीन भएपछि यामाहाले आफ्नो लोकप्रिय ब्राण्डको गुणस्तर घटाउन थालेको छ । यामाहाले एफजेट एस भी थ्रीको नयाँ भेरियण्टलाई अझ सस्तो मूल्यमा बेच्न यस्तो उपाय लगाएको हो ।

१४९ सीसी क्षमताको यो मोटरसाइकल पुरानो भी–थ्रीकै अर्को भेरियण्ट हो । बाँकी बडी र इञ्जिन उही भए पनि केही पार्टपूर्जामा गुणस्तर घटाएर यामाहाले नायाँ मोटरसाइकल लञ्च गरेको हो । यस्ता मोटरसाइकल अब नेपाली बजारमा पनि उपलब्ध हुन थालेको छ ।

मूल्य प्रतिस्पर्धामा पछाडी

डुकाटी, रोयल इनफिल्डजस्ता उच्च क्षमताका मोटरसाइकललाई छाड्ने हो भने यामाहा नेपालको महँगो ब्राण्डमा पर्छ । १५० सीसी सेग्मेण्टमा यामाहाको एमटी १५ मोटरसाइकलको भाउ ५ लाख १० हजार छ । जबकी सुजुकीले यही क्षमताको मोटरसाइकल ३ लाख ६३ हजारमा बेचिरहेको छ ।

होण्डाले १६० सीसीको सीबी हर्नेट ३ लाख ५३ हजारमा र टीभीएसले १६० सीसीकै आरटीआर मोटरसाइकल ३ लाख ६० हजारभन्दा सस्तो भाउमा बेचिरहेको छ । यसरी बजारमा मूल्यको प्रतिस्पर्धामा टिक्न नसकेपछि यामाहाले आफ्नो पपुलर सेग्मेण्टको एउटा मोटरसाइकललाई पहिले भन्दा कमसल ‘पार्टस’ हालेर थोरै सस्तो बनाएको छ ।

यामाहाले एफजेट एस भी थ्रीको नयाँ भेरियण्टलाई ३ लाख ७९ हजार ९ सयमा बेच्न थालेको छ । एफजेट–एसको यस भेरियण्टलाई ‘भी थ्री एसटीडी’ भनिएको छ । तर यही सेग्मेण्टको एफजेट–एस भी थ्रीको भाउ ३ लाख ९९ हजार ९०० कायम गरिएको छ । डेढ महिना अघिसम्म यो मोटरसाइकलको भाउ ३ लाख ८४ हजार थियो । दशैंको मुखमा १५ हजार भाउ बढाएर यामाहाले अर्को कमशल मोटरसाइकल भने सस्तोमा निकालेको हो ।

पछिल्लो समय ‘स्टक क्लियरेन्स’का लागि पटक पटक ‘एक्सचेञ्ज अफर’ चलाएको यामाहाले यो दशैंमा ग्राहक तान्न राइडर ज्याकेटदेखि आइफोन १४ र जापान भ्रमणको अफर ल्याएको छ । सन् २०२२ मोडलका मोटरसाइकलहरु बेच्नै धौ धौ भएपछि यामाहाले यस्ता अफर चलाएको हो । गुणस्तरका हिसाबले साधारण मोटरसाइकलहरुमध्ये यामाहा राम्रै मानिन्छ ।

तर यसको महँगो मूल्यका कारण बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ । यो मोटरसाइकल नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले बेच्छन् । तर बजाज, टीभीएस जस्ता ब्राण्डको बढ्दो ब्राण्डिङ सामु यामाहा पछि पर्न थालेको छ । गत साल सरकारले १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात रोकिदिए पछि त्यसको नीतिगत लाभ यामाहाले पाएको थियो ।

तर यस्तो प्रतिबन्ध खुल्ने वित्तिकै यामाहाको १५० सीसीको मोटरसाइकल किन्ने मूल्यले अरु कम्पनीका बढी क्षमताका मोटरसाइकल किन्न पाइने भयो । यसले यामाहाबाट फेरि एक पटक ग्राहक बाहिरिन थालेका छन् । उदाहरणका लागि अहिले पनि एफजेट एस भी थ्रीको पुरानो मोडेल किन्दा ३ लाख ९९ हजार ९०० पर्छ । ठ्याक्कै त्यही मूल्यमा बजाजले पल्सर २२० एफ (डबल एबीएस) मोटरसाइकल बेचिरहेको छ ।

इञ्जिन क्षमता निकै बढी भएका कारण माइलेज कम दिनेभन्दा बाहेक यामाहाको मोटरसाइकलभन्दा बजाजको यो मोडल ज्यादै शक्तिशाली र लोकप्रिय छ । यामाहाले एफजेट–एस भी थ्रीमै अहिले तीन वटा भेरियण्ट निकालेको छ । सबैभन्दा सस्तो भेरियन्टको मूल्य ३ लाख ८० हजार राखिएको हो । तर त्यो भाउमा १२ हजार थपिदिने हो भने बजाजको एनएस २०० एबीएस आउँछ । यामाहाको यही मोडलमा पनि भिन्न भेरियण्टका मोटरसाइकल अझ महँगो छ । एफजेट–एस भी थ्रीकै डिलक्सको मूल्य ४ लाख ४ हजार ९ सय तोकिएको छ । योभन्दा १४ सय सस्तोमा त हिरोको एक्सपल्स नै आउँछ ।

कहाँ कहाँ भयो बदलाव ?

बजार प्रतिस्पर्धा गर्न गुणस्तरले मात्र पुग्दैन । यसका लागि मूल्य पनि महत्वपूर्ण पाटो हो । अहिले यामाहाले नेपालमा भोगिरहेको समस्या मूल्यको प्रतिस्पर्धा हो । नेपालमा भित्रिने अन्य मोटरसाइकलहरु यामाहाका तुलनामा निकै सस्तो देखिन्छन् ।

यही कारण यामाहाले पार्टपूर्जामा केही परिवर्तन गरेर सस्तोमा मोटरसाइकल ल्याएको छ । नेपालमा यामाहाका मोटरसाइकल बेच्ने एमएडब्ल्यू राइडर्स प्रालीका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भारतमै मूल्य ५ हजार भारु जति घटेका कारण नेपालमा पुरानो भेरियण्टभन्दा २० हजार सस्तोमा यो एसटीडी भेरेयण्टको मोटरसाइकल बेच्न लागिएको बताए ।

‘नेपालको राजस्व र ढुवानीजस्ता कारणले भारतमा ५ हजार मूल्य बढ्यो भने नेपालमा २० हजारले बढ्छ, घट्दा पनि त्यसरी नै घट्छ’ सीईओ क्षेत्रीले भने । नयाँ भेरियण्टमा केही पार्टपूर्जामा परिवर्तन गरिएको उनले जानकारी दिए । उनले थपे, ‘इञ्जिन र परफरमेन्स त्यही हो । तर पहिलेको मोटरसाइकलमा ‘म्याट फिनिस’ भनिने महँगो खालको रंग लगाइएको थियो । नयाँ भेरियन्टमा ‘ग्लसी फिनिस’ भनिने सस्तो रंग लगाइएको छ ।’

म्याट(धमिलो) रंगको तुलनामा ग्लसी (चम्किलो) रंग लगाउँदा बाइक स्क्र्याच हुने जोखिम बढ्छ र कोरिएको ठाउँहरु बढी चम्किलो रुपमा देखिन्छ । ग्लसी फिनिसमा अन्य कम्पनीहरुले विविध रंगको प्रयोग गर्छन् । यसमा बहुरंगको समीश्रण गर्न पनि सजिलो पर्छ । तर यामाहाले नयाँ भेरियण्टका लागि नीलो र कालो दुई रंगमात्रै प्रस्तुत गरेको छ । यसले लागत घटाउन कम्पनी कतिधेरै सजग भएको छ भन्ने देखाउँछ । तर ग्राहकका लागि भने यसले विकल्पको छनोट गर्ने सुविधालाई खुम्च्याइदिएको छ ।

केही महत्वपूर्ण परिवर्तहरुमध्ये यस पल्ट भएको बदलाव हेडलाइटमा पनि हो । पहिलेको गाडीमा एलईडी म्याकलाइट (हेडलाइट) आउँथ्यो । अहिलेकोमा नर्मर (हेलोजन) म्याकलाइट आउँछ । हेलोजन बल्ब पुरानो प्रविधी हो । केही वर्षयता नेपाल र भारतमै पनि हेलोजन बल्बको विकल्पमा एलईडीको माग र प्रयोग बढेको छ ।

नयाँ भेरियण्टका मोटरसाइकलमा एलईडी बल्ब राख्ने प्रक्रियालाई सबै कम्पनीले शीघ्रतासाथ अघि बढाएका छन् । यस्तो बेला यामाहाले ‘पश्चगामी’ निर्णय गरेको छ । खासगरी नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा हेलोजन बल्बभन्दा एलईडी बढी प्रभावकारी हुने जानकारहरु बताउँछन् ।

हेलोजन बत्ति हुँदा यदी मोटर साइकलको गति घटाउनु पर्यो भने हेडलाइटको प्रकाश ज्यादै कम हुन जान्छ । पहाडी र हिमाली क्षेत्रका उकालो वरालोमा मोटरसाइकल चलाउनु पर्दा यसले निकै समस्या पार्दै आएको छ । अझै कम क्षमताका मोटरसाइकलमा त गति कम हुँदा हेलोजन लाइट बलेको र निभेको पनि थाहा नहुने अवस्था आउँछ ।

यस्तो लाइटमा चमक आउन मोटरसाइकलको गति बढाउनै पर्छ । तर एलईडी लाइटको प्रकाश समान स्तरमा आउने भएकाले गति बढी होस् वा कम, उत्तिकै उज्यालो देखिन्छ । यसले मूलतः भिरालो, कच्चा वा पहाडी बाटोमा सुस्त गतिमा मोटरसाइकल चलाउन एलईडी बत्ति उचित हुन्छ ।

तराई क्षेत्रका समथर भूभागमा चलाउन भने हेलोजन लाइट बढी उपयुक्त हुन सक्छ । किनकी, एलईडीको तुलनामा हेलोजन लाइटले बढी टाढासम्म उज्यालो फाल्छ । एलईडीले फराकिलो तर निश्चित भागमा उज्यालो दिन्छ भने हेलोजनले साँघुरो, तर टाढासम्म उज्यालो दिन्छ । तसर्थ राजमार्गहरुमा रातको समय हिँड्नु पर्दा हेलोजन लाइट बढी उपयुक्त हुन्छ ।


प्रतिक्रिया दिनुहोस्