अटो बजारमा फर्किदैँ उत्साहः राष्ट्र बैंकको लचकता नीति र घट्दो ब्याजदरले बढायो व्यापार « Arthapath.com
१७ मंसिर २०८०, आईतवार

अटो बजारमा फर्किदैँ उत्साहः राष्ट्र बैंकको लचकता नीति र घट्दो ब्याजदरले बढायो व्यापार



काठमाडौं । कोभिड महामारी र त्यसपछिको आर्थिक संकुचनले प्रभावित भएको नेपाली अटो बजार अव भने विस्तारै लयमा फर्किन थालेको छ । पछिल्लो समय गाडी व्यापार बढ्न थालेसँगै अटोमोबाइल्स क्षेत्रमा उत्साह देखिन थालेको हो । विशेषगरी ठूला चाडपर्व दशैँ, तिहारमा गाडीको व्यापार उल्लेख्य मात्रामा बढेको व्यवसायीले बताएका छन् ।

अघिल्लो वर्षको तुलनामा साना प्यासेञ्जर गाडीको व्यापारले राम्रै रफ्तार समातेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले बताए । ‘अघिल्ला वर्षहरुमा हामीले व्यापार गर्नै पाएनौं । यसपालिको चाडपर्वले उत्साह थपिदिएको छ’, महासचिव उप्रेतिले भने, ‘दसैं तिहारमा राम्रै कारोबार भयो ।’

पछिल्लो समय नेपालमा पेट्रोलबाट चल्नेभन्दा विद्युतीय सवारीको बिक्री बढेको उनले बताए । सबै खाले सावरीसाधनको विक्री समग्रमा १० देखि १५ प्रतिशत हाराहारीमा बढेको उनको भनाई छ ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको र ब्याजदर घट्दै गएकाले सवारीसाधनको व्यापार बढाउन सहयोग पुगेको उप्रेतिले बताए । ‘राष्ट्र बैङ्कले पनि कर्जा बढाउन लचिलो नीति ल्याएको छ । बैंकहरुले पनि सवारी कर्जामा जोड दिइरहेका छन्’ उनले भने ।

सवारी खरीदका लागि बैंकहरुले पनि सहज रुपमा कर्जा उपलब्ध गराउन थालेको उनको भनाई छ । ‘कागजी प्रक्रिया पुरा गर्नेलाई बैंकहरुले एकैदिनमा पनि सवारी कर्जा स्वीकृत गर्न थालेका छन्’, उनले थपे, ‘बढीमा पनि ७ दिनभित्रै कर्जा दिइरहेका छन् ।’

अहिले अधिकांश बैंकहरुको आधार दर पनि एकल अंकमा अर्थात १० प्रतिशत भन्दा कम भइसकेको छ । बैंकहरुले आधार दरमा १ प्रतिशतमात्रै प्रिमियम थपेर सवारी कर्जा दिन थालेका छन् । उत्पादनमुलक र अन्य कर्जाका हकमा प्रिमियम बढी भए पनि सवारी कर्जामा सस्तो प्रिमियममै पैसा जान थालेको छ ।

अझ विद्युतीय सवारीसाधनमा त धितो मूल्यांकनको ८० प्रतिशतसम्म पनि बैंकले कर्जा लगानी गरिदिने अवस्था छ । यसले सहजै गाडी किन्न सक्ने अवस्था तयार भएको छ । यसअघि भने ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण लगानी गर्ने बैंकहरु अहिले बढ्दो तरलतालाई व्यवस्थित गर्न लगानी बढाउनेतर्फ उद्धत भएका छन् । त्यसैकारण यसअघि १५ प्रतिशतसम्म पुगेको सवारी कर्जाको ब्याजदर अहिले १०–११ प्रतिशतमा झरेको छ । ब्याजदर घटेका कारण त्यसको सकारात्मक प्रभाव गाडीको व्यापारमा परेको व्यवसायीहरु बताउँछन् ।

विगतमा महामारी, आर्थिक मन्दी र आयातमा लगाइएको प्रतिबन्धले ठूलो धक्का पुगेको गाडी व्यापारमा अहिले सकारात्मक संकेत देखिन थालेको छ । बढ्दो बजार महँगी, उच्च ब्याजदर, आर्थिक संकटले सुस्ताएको यस क्षेत्रमा विस्तारै गति लिने संकेत गरेको नाडा महासचिव उप्रेतिले बताए ।

विस्तारै व्यापार बढ्न थालेको भए पनि पुरानै हालतमा फर्किन भने अझै एक वर्ष हाराहारी लाग्न सक्ने व्यवसायीको अनुमान छ । उप्रेतीले व्यापारमा नाडा अटो शो र दशैँ, तिहारजस्ता पर्वले ब्यापर बढान सघाएको बताए ।


प्रतिक्रिया दिनुहोस्