दुई हप्ताको छानबिनपछि व्यवसायीले फिर्ता पाए सशस्त्रको नियन्त्रण रहेका ७७४ विद्युतीय गाडी « Arthapath.com
२ असार २०८३, मंगलबार

दुई हप्ताको छानबिनपछि व्यवसायीले फिर्ता पाए सशस्त्रको नियन्त्रण रहेका ७७४ विद्युतीय गाडी



काठमाडौं । राजस्व छलीको आशङ्कामा नियन्त्रणमा लिइएको दुई सातामै सशस्त्र प्रहरी बलले ७७४ वटा चिनियाँ विद्युतीय गाडी (ईभी) विना कुनै कारबाही सम्बन्धित धनीलाई सुटुक्क फिर्ता गरेको छ।

मुस्ताङको कोरला नाकाबाट भित्रिएका बिवाईडी ब्रान्डका यी बहुमूल्य गाडीहरूमा गम्भीर राजस्व चुहावट भएको आशङ्कामा दुई हप्ताअघि उक्त गाडीहरू बरामद गरेकाे थियाे ।

अर्थ मन्त्रालयकाे समन्वयमा सशस्त्र प्रहरीले ती गाडीहरू सम्बन्धित व्यवसायीको जिम्मा लगाएकाे हाे ।

यस घटनाको यथार्थता पत्ता लगाउन सरकारले अर्थ मन्त्रालयमार्फत एउटा विशेष छानबिन समिति गठन गरेको थियो। उक्त समितिले कोरला नाका, जोमसोम, पर्वत र कास्कीसम्मै पुगेर स्थलगत अध्ययन गर्नुका साथै गाडीका सबै कागजातहरूको मिहीन परीक्षण गरेको थियो।

स्थलगत निरीक्षण र प्रारम्भिक अध्ययनका क्रममा आयात गरिएका ती विद्युतीय सवारीसाधनहरूमा कुनै पनि स्पष्ट कैफियत वा कानुनी त्रुटि नदेखिएको निष्कर्षमा समिति पुगेको हो। समितिले गाडीहरू वैध रहेको प्रतिवेदन बुझाएलगत्तै दुई सातादेखि नियन्त्रणमा राखिएका ती सबै सवारीसाधनहरू फुकुवा गर्ने प्रक्रिया अघि बढाइएको हो।

बिनाकुनै ठोस प्रमाण नेपाली बजारका लागि ल्याइएका व्यापारिक गाडीहरू दुई हप्तासम्म नियन्त्रणमा लिँदा बजारमा अनावश्यक अन्योल सिर्जना भएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाउँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस्