भारतीय स्कुटर बजारमा महासङ्ग्राम, कसरी खुम्चिँदै छ होन्डाको एकछत्र राज र उदाउँदै छ टीभीएस? « Arthapath.com
१० असार २०८३, बुधबार

भारतीय स्कुटर बजारमा महासङ्ग्राम, कसरी खुम्चिँदै छ होन्डाको एकछत्र राज र उदाउँदै छ टीभीएस?



भारतीय स्कुटर बजारमा दशकौँदेखि कायम होन्डाको बलियो विरासतलाई टीभीएसले विद्युतीय र आधुनिक मोडलहरू मार्फत कडा चुनौती दिएपछि बजारमा नयाँ तरङ्ग पैदा भएको छ।

काठमाडौँ । भारतीय दुई पाङ्ग्रे सवारीसाधनको बजारमा लामो समयदेखि एकलौटी जस्तै राज गर्दै आएको जापानी ब्राण्ड होन्डालाई भारतीय उत्पादक टीभीएसले कडा चुनौती दिन थालेको छ।

कुनै समय एक्टिभा र डिओ जस्ता मोडलका कारण ग्राहकको पहिलो रोजाइमा पर्ने गरेको होन्डाको बजार हिस्सा विगत एक दशकमा निकै खुम्चिएको तथ्याङ्कले देखाएका छन्।

अर्कोतर्फ, आक्रामक बजार रणनीति र नयाँ प्रविधिका साथ प्रस्तुत भएको टीभीएस मोटर कम्पनीले होन्डासँगको दूरीलाई निकै तीव्र गतिमा कम गर्दै लगेको छ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०१७ मा भारतीय स्कुटर बजारको झन्डै ५७ प्रतिशत हिस्सा ओगटेको होन्डाको उपस्थिति आर्थिक वर्ष २०२६ मा आइपुग्दा करिब ३९ प्रतिशतमा सीमित हुन पुगेको छ।

ठीक विपरीत, सोही अवधिमा टीभीएसले भने आफ्नो बजार हिस्सालाई झन्डै दोब्बरले बढाएर २८ प्रतिशत भन्दा माथि पुर्‍याउन सफल भएको देखिन्छ। यसले भारतीय बजारमा उपभोक्ताको रोजाइ परम्परागत ब्रान्डबाट आधुनिक र नवप्रवर्तनतर्फ मोडिएको सङ्केत गर्छ।

बढ्दो बजार र बदलिँदो समीकरण

विगत नौ वर्षको अवधिमा भारतीय बजारमा स्कुटरको समग्र माग र बिक्रीमा करिब ४५ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। आर्थिक वर्ष २०१७ मा वार्षिक ५६ लाख युनिटको हाराहारीमा रहेको स्कुटरको थोक बिक्री बढेर आर्थिक वर्ष २०२६ मा ८१ लाख युनिटभन्दा माथि पुगेको छ।

तर, बजारमा माग यसरी ह्वात्तै बढ्दा पनि त्यसको व्यावसायिक लाभ भने होन्डाले लिन सकेको देखिँदैन। ९ वर्षअघि वार्षिक झन्डै ३२ लाख स्कुटर बेचेको होन्डाको बिक्री पछिल्लो समय उल्टै २७ हजार युनिटले घटेको छ।

बजारमा २५ लाखभन्दा बढी नयाँ ग्राहक थपिँदा पनि बिक्री घट्नुले होन्डाका लागि चुनौती थपिएको स्पष्ट पार्छ।

होन्डा सुस्ताएको यही मोडमा टीभीएसले भने आफ्नो व्यवसायलाई झन्डै तीन गुणाले बढाएको छ। नौ वर्षअघि वार्षिक सवा आठ लाख स्कुटर मात्र बिक्री गर्ने टीभीएसले आर्थिक वर्ष २०२६ मा २३ लाखभन्दा बढी युनिट बिक्री गरेर बजारमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ।

मध्यमवर्गलाई लक्षित ‘जुपिटर’ र युवा पुस्तामाझ लोकप्रिय ‘एनटर्क’ जस्ता पेट्रोल मोडलहरू टीभीएसको यो रणनीतिक सफलताका मुख्य खम्बाहरू बनेका छन्।

विद्युतीय सवारीमा अग्रता

टीभीएसको यो फड्कोमा सबैभन्दा ठूलो भूमिका विद्युतीय स्कुटर (ईभी) को बजारले खेलेको देखिन्छ। कम्पनीले समयमै ल्याएको ‘आईक्युब’ र नयाँ ‘अर्बिटर’ जस्ता विद्युतीय मोडलहरूले बजारमा बलियो पकड जमाएका छन्।

आर्थिक वर्ष २०२० मा नाम मात्रको अर्थात् ६२ वटा विद्युतीय स्कुटर बेचेको टीभीएसले आर्थिक वर्ष २०२६ मा आइपुग्दा साढे तीन लाखभन्दा बढी युनिट बिक्री गर्न सफल भएको छ।

हाल टीभीएसले बिक्री गर्ने प्रत्येक पाँचवटा स्कुटरमध्ये एउटा विद्युतीय हुने गरेको छ, जसले गर्दा यो कम्पनी भारतकै सबैभन्दा ठूलो विद्युतीय दुई पाङ्ग्रे निर्माता बन्न सफल भएको छ।

विगतमा यी दुई प्रतिस्पर्धी कम्पनीबिच वार्षिक झन्डै साढे २३ लाख युनिटको विशाल अन्तर थियो। तर, पछिल्लो समय यो दूरी ६४ प्रतिशतले घटेर साढे आठ लाख युनिटमा झरेको छ। चालू आर्थिक वर्ष २०२७ को सुरुआती दुई महिना अर्थात् अप्रिल र मे महिनाको तथ्याङ्कले त यो अन्तरलाई झनै खुम्च्याएर ९४ हजार युनिटमा झारिदिएको छ।

यो अवधिमा होन्डाको बजार हिस्सा ३५ प्रतिशतमा झर्दा टीभीएस २८ प्रतिशतभन्दा माथि उक्लिएको छ। अहिले होन्डा परम्परागत पेट्रोल स्कुटरको बुई चढेर अगाडि देखिँदै गर्दा टीभीएसले भविष्यको प्रविधि मानिएको विद्युतीय क्षेत्रमा ठूलो अग्रता लिइसकेको छ।

नेपाली बजारमा उही लय, सुस्त गति

भारतीय बजारमा टीभीएसले होन्डालाई तीव्र गतिमा लखेटिरहेको भए पनि नेपाली बजारको दृश्य भने अहिले नै त्यो स्तरमा बदलिइसकेको छैन। नेपालमा अझै पनि होन्डा स्कुटरको विक्री उल्लेख्य छ । यद्यपि, अहिल सुस्त देखिए पनि भारीय बजारकै लय समातेर नेपाली सडकमा पनि टीभीएसले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।

नेपालका युवा पुस्ता माझ स्पोर्टी र शक्तिशाली इन्जिनयुक्त स्कुटरका रूपमा टीभीएस ‘एनटर्क’ पहिलो रोजाइ बन्ने गरेको छ। एनटर्कबाहेक कम्पनीले नेपाली बजारमा जुपिटर र आईक्युब विद्युतीय स्कुटर पनि उपलब्ध गराउँदै आएको छ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालमा पनि टीभीएसको आईक्युब विद्युतीय स्कुटरले राम्रो बजार पाइरहेको छ।

त्यसो त, नेपाली बजारमा होन्डालाई टीभीएसले मात्र नभएर यामाहा, हिरो, एथर, चेतक र याडिया जस्ता अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूले पनि आ-आफ्नो तर्फबाट चुनौती दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्