‘छोटे डन’ पञ्च अब लङ–रेञ्ज ब्याट्रीमा आउँदै, माइक्रो एसयूभीको बजार कब्जा गर्ने रणनीति
नेपालमा खुबै रुचाइएका साना एसयूभीमध्येको एक टाटा पञ्च अब ठूलो ब्याट्रीमा पनि उपलब्ध हुने भएको छ । टाटा मोटर्सले ४० किलोवाट आवरको शक्तिशाली ब्याट्री र लाइफटाइम वारेन्टी सहित नयाँ पञ्च इभी भारतीय बजारमा चार महिना अघि नै सार्वजनिक गरेको थियो।
काठमाडौँ । सडकमा खाल्डैखाल्डा र छेउतिर भासिएको पिच । अनि कतिपय ठाउँमा कहिल्यै नसकिने मर्मत तथा कतैकतै ‘हेभी गाडी’ले धसाएको ‘लिक’ । नेपालका राजमार्गहरुको तीतो वास्तविकता हो यो ।
अर्कातिर पहाडी बाटाघाटामा बगिरहने पहिरोले राम्रै सडकलाई पनि ‘अप्ठेरो’ बनाइदिने गरेको छ । ५० औँ किलोमिटरको यात्रा गर्दा १–२ ठाउँमा मात्रै पहिरो छ भने पनि होचा गाडी कुदाउन कठीन हुन्छ ।
भूगोल र पूर्वाधारको यही हालतलाई हेरेर नेपालमा निजी गाडी किन्नेमध्ये ज्यादातरको रोजाई एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) हुने गर्छ । तर त्यसमा पनि सकेसम्म सस्तो पैसा, बलियो गाडी, मर्मत तथा पार्टपूर्जाको विस्वसनीयता र हेर्दा पनि ठूलो र राम्रो ।
यी सबै कारणले उपभोक्ताको रोजाईलाई प्रभावित पार्छ । र, त्यस्तै रोजाइमा पर्न सफल एउटा गाडी हो– टाटाको पञ्च ईभी ।
पञ्चका पारखीहरुका लागि अब फेरि एउटा खुसीको खबर बाहिर आएको छ । त्यो के भने, आगामी साउन अन्तिमसाता काठमाडौँमा सुरु हुने ‘नाइमा अटो शो’मा अहिलेभन्दा पनि ठूलो र राम्रो ब्याट्री प्याक सहितको नयाँ गाडी नेपाली उपभोक्तासामु आइपुग्ने भएको छ ।
यसमा सबैभन्दा महत्वपूर्ण बदलाव भनेको नै यसको ब्याट्री हो । अहिले नेपालमा विक्री भइरहेको पञ्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री प्रयोग भइरहेको छ । अब यसलाई ४० किलोवाट आवरमा स्तरोन्नती गर्न लागिएको छ ।
टाटा मोटर्सले भारतीय बजारमा आफ्नो चर्चित इलेक्ट्रिक माइक्रो एसयुभी ‘पञ्च इभी’ को सन् २०२६ को नयाँ संस्करण गत फेब्रुअरीमा औपचारिक रूपमा सार्वजनिक गरेको थियो। नयाँ प्रविधि, शक्तिशाली ब्याट्री, तीव्र चार्ज हुने प्रणाली र सस्तो मूल्यमा गाडी किन्न मिल्ने नौलो स्वामित्व मोडेलसहित यो गाडी बजारमा ल्याइएको हो।

भारतीय बजारमा नयाँ पञ्च इभी ‘ब्याट्री एज अ सर्भिस’ अर्थात् ‘बास’ मोडेलमा पनि किन्न पाइने सुविधा छ, जुन नेपालमा अहिले सम्भव छैन । यस योजना अन्तर्गत भारतीय बजारमा गाडीको सुरुवाती मूल्य ६ लाख ४९ हजार भारु तोकिएको छ भने ब्याट्री प्रयोग गरे बापत ग्राहकले प्रतिकिलोमिटर करिब २ रुपैयाँ ६० पैसाका दरले भाडा तिर्नुपर्ने हुन्छ।
यदि ग्राहकले ब्याट्रीसहित पुरै गाडी किन्न चाहेमा यसको सुरुवाती मूल्य ९ लाख ६९ हजार भारु रहेको छ भने सबैभन्दा महँगो भेरियन्टको मूल्य १२ लाख ५९ हजार भारुसम्म पर्नेछ। भारतीय बजारमा यसका स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस एस गरी विभिन्न भेरियन्टहरू उपलब्ध गराइएको छ।
नेपालमा अहिले विक्री भइरहेको गाडी पनि इम्पावर्ड भेरियन्टकै भएकाले अब आउने गाडी पनि यही प्रिमियम भेरियण्ट हुनसक्ने अड्कल गरिएको छ । तर कम्पनीले यसबारे विस्तृतमा बताएको छैन ।
४० किलोवाट आवरको लङ रेन्ज ब्याट्री प्याक रहेको ठूलो ब्याट्रीले एआरएआई प्रमाणित ४६८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने वास्तविक सडकमा यसले ३३५ देखि ३५५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले बताएको छ।
यस गाडीको अगाडिको एक्सेलमा सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १२७ हर्सपावरको अधिकतम शक्ति प्रदान गर्दछ। यो गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको गति ९ सेकेन्डभित्र समात्न सक्ने क्षमता राख्दछ। यसमा इको, सिटी र स्पोर्ट गरी तीन वटा ड्राइभिङ मोडहरू र चार वटा रिजेनेरेसन मोडहरू उपलब्ध छन्।
चार्जिङको कुरा गर्दा, यसले ६५ किलोवाटको डिसी फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसको मद्दतले २६ मिनेटमा ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्छ। साथै, १५ मिनेट चार्ज गर्दा गाडी १३५ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यसमा ३.३ किलोवाट र ७.२ किलोवाटका होम चार्जरहरू पनि प्रयोग गर्न सक्नेछन्।
नयाँ पञ्च इभीको बाहिरी र भित्री बनावटमा पनि व्यापक परिमार्जन गरिएको छ। यसको अगाडिको भागमा नयाँ बन्द ग्रिल, कालो पट्टीले जोडिएको नयाँ एलइडी डिआरएल र त्रिकोणात्मक पडमा राखिएका हेडल्याम्पहरू रहेका छन् भने पछाडिको भागमा आकर्षक एलइडी टेललाइट र फुल विड्थ एलइडी लाइट बार जडान गरिएको छ।
गाडीमा १९५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र ४५० एमएमको पानीमा गुड्न सक्ने क्षमता रहेको छ भने यसको कुल तौल १३६० केजी छ।

गाडीको भित्री भागमा दुई वटा स्पोक भएको नयाँ स्टेरिङ ह्विल, इन्फोटेनमेन्ट र डिजिटल ड्राइभर डिस्प्लेका लागि १०.२५ इन्चका दुई वटा स्क्रिन, भेन्टिलेटेड अगाडिका सिटहरू, भ्वाइस कमान्डबाट चल्ने सनरुफ, वायरलेस चार्जर र टचमा आधारित एसी कन्ट्रोल जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्। यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा पनि छ।
सुरक्षाका दृष्टिकोणले टाटाले यस गाडीलाई निकै बलियो बनाएको छ। नयाँ पञ्च इभीका सबै भेरियन्टहरूमा ६ वटा एयरब्याग अनिवार्य गरिएको छ। यसका साथै एबिएस, इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (इएसपी), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपिएमएस), ३६० डिग्री क्यामेरा, ब्लाइन्ड भ्यु मोनिटर र अटो डिमिङ आइआरभिएम जस्ता सुरक्षा सुविधाहरू पनि समावेश छन्।
बालबालिकाको सुरक्षाका लागि यसमा आइसोफिक्स चाइल्ड सिट माउन्ट पनि दिइएको छ।
समग्रमा यो ‘माइक्रो–एसयूभी’लाई अर्थपथले नेपाली ईभी बजारको एक ‘छोटे डन’ उपमा दिएको छ । यसको एग्रेसिभ लुक्स र पहिलो पल्ट गाडी चढ्नेहरुका लागि उपयुक्त हुने भएकाले यसले नेपाली बजारमा थप दबदबा बनाउन सक्ने सम्भावना छ ।
यसको विस्तारित ब्याट्री क्षमताले लामो र उकालो बाटोमा जान ड्राइभरलाई ‘आँट र भरोसा’ प्रदान गर्ने छ । फलस्वरुप अब काठाडौँको बजारमा पञ्च ईभी पहिलेभन्दा पनि निकै बाक्लो गरी भेटिनसक्ने संभावना देखिएको छ ।












