वित्तीय प्रणालीबाट ७९ दिनका लागि ७० अर्ब रुपैयाँ उठाउँदै केन्द्रीय बैंक
काठमाडौं । बैंकिङ क्षेत्रमा अत्यधिक नगद रकम जम्मा भएपछि नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा बजारबाट तरलता व्यवस्थापन गरिरहेको छ।
आज (असार १० गते) पुनः केन्द्रीय बैंकले ७९ दिनका लागि ७० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेकाे छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा उठाउन लागेकाे हाे ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सुरु हुनेछ। यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान गरिएको रकमसम्म, ५ करोड रुपैयाँले पूर्ण रूपमा भाग जाने गरी प्रस्ताव पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने इच्छुक संस्थाहरूले बहु-ब्याजदरमा समेत आफ्नो प्रस्ताव पेस गर्न सक्नेछन्। यस केन्द्रीय बैंकको निक्षेप संकलन उपकरणमा केवल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउने नियम रहेको छ।
यो निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याजको अन्तिम भुक्तानी आगामी भदौ २६ गते गरिने राष्ट्र बैंकले जनाएको छ।












