विद्युतीय गाडीको ब्याट्री विस्फोट नहुने ग्यारेन्टी, चेरीले ल्यायो ब्याट्रीको आजीवन वारेन्टी « Arthapath.com
१९ असार २०८३, शुक्रबार

विद्युतीय गाडीको ब्याट्री विस्फोट नहुने ग्यारेन्टी, चेरीले ल्यायो ब्याट्रीको आजीवन वारेन्टी



चीनमा नयाँ र कडा ब्याट्री सुरक्षा मापदण्ड लागू भएपछि चेरी अटोमोबाइलले आफ्ना विद्युतीय गाडीका ग्राहकका लागि आकर्षक वारेन्टी र ब्याट्री विस्फोट भएमा नयाँ गाडी नै उपलब्ध गराउने घोषणा गरेको छ।

काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चेरीले चीनमा ‘राइनो’ प्याक भएका आफ्ना सबै न्यु एनर्जी भेहिकल (विद्युतीय र हाइब्रिड गाडी) का पहिलो खरिदकर्ताका लागि ब्याट्रीको आजीवन वारेन्टी दिने घोषणा गरेको छ।

आन्तरिक बजारमा ब्याट्री सुरक्षासम्बन्धी “आगो नलाग्ने वा विस्फोट नहुने” कडा र अनिवार्य नयाँ मापदण्ड लागू भएपछि उपभोक्तामाझ विश्वास बढाउने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको हो।

चेरी अटोमोबाइलले एक विज्ञप्ति जारी गर्दै राइनो ब्याट्री जडान गरिएका कम्पनीका पूर्ण दायराका न्यु एनर्जी भेहिकलहरू (जसमा पूर्ण विद्युतीय, प्लग-इन हाइब्रिड र रेन्ज-एक्सटेन्डेड विद्युतीय गाडी पर्छन्) ले नयाँ राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गरेको बताएको छ।

यसलाई प्रमाणित गर्न कम्पनीले व्यावसायिक प्रयोजनका लागि बाहेक, निजी रूपमा प्रयोग गर्ने पहिलो सवारी धनीका लागि आजीवन वारेन्टीको व्यवस्था गरेको हो। यो वारेन्टीले ब्याट्री, इलेक्ट्रिक मोटर र कन्ट्रोल युनिटहरूलाई समेट्छ।

चेरीका अधिकारीहरूले चीनमा बिक्री भइसकेका वा हाल बिक्रीमा रहेका कुनै पनि मोडलका गाडीको ब्याट्रीमा मानवीय त्रुटिबाहेक प्राविधिक खराबीका कारण अत्यधिक तातो भएर क्षति पुगेमा कम्पनीले क्षतिपूर्तिको रूपमा सोही मोडलको नयाँ गाडी उपलब्ध गराउने स्पष्ट पारेका छन्।

हाल चेरी अटोमोबाइलअन्तर्गतका चेरी, एक्सेड, जेटुर र आईकार गरी चारवटा ब्रान्डले यो राइनो ब्याट्री प्रयोग गरिरहेका छन्।

नयाँ र कडा सुरक्षा मापदण्ड

यसअघि सन् २०२३ मा चेरीले आफ्ना सम्पूर्ण गाडीहरूको लाइनअपका लागि आजीवन वारेन्टी घोषणा गरेको थियो। तर पछिल्लो कदमले हालको वारेन्टी प्रणालीभित्र ब्याट्री सुरक्षाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

कम्पनीको यो निर्णय सन् २०२६ को जुलाई १ देखि अनिवार्य रूपमा लागू भएको पछिल्लो जीबी ३८०३१–२०२५ ब्याट्री सुरक्षा मापदण्डको जवाफ हो।

यो नयाँ व्यवस्थालाई इतिहासकै सबैभन्दा कडा ब्याट्री सुरक्षा मापदण्ड मानिएको छ। यस मापदण्डअनुसार ब्याट्री अत्यधिक तातो भएपछि दुई घण्टाको निगरानी अवधिभित्र गाडीमा आगो लाग्ने वा विस्फोट हुनु हुँदैन। त्यस्तै ब्याट्रीको चेतावनी घण्टी बजेको पाँच मिनेटभित्र यात्रु बस्ने ठाउँ (क्याबिन) मा धुवाँ पस्न नहुने नियम बनाइएको छ।

यसबाहेक ब्याट्रीले १५० जुल ऊर्जा उत्पन्न गर्ने ३० मिलिमिटरको स्टिल बलको तीनवटा प्रहारलाई आगो नलागी वा विस्फोट नभई थेग्न सक्नुपर्छ। नयाँ मापदण्डले ३०० पटकको फास्ट-चार्जिङ चक्रपछि पनि ब्याट्री नजल्ने वा विस्फोट नहुने कुराको सुनिश्चितता खोजेको छ।

प्रविधिमा लगानी

चेरीले नयाँ प्रविधिहरूमा लगानी गर्दै चीनमा आफ्ना न्यु एनर्जी भेहिकलहरूको बिक्रीलाई आक्रामक रूपमा अघि बढाइरहेको छ। कम्पनीले सन् २०२७ सम्ममा सोलिड-स्टेट ब्याट्रीलाई ठूलो संख्यामा बजारमा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसका साथै चेरीले अन्य प्रकारका ब्याट्रीहरूको पनि विकास गरिरहेको छ।

वुहुमा मुख्यालय रहेको यो कार निर्माता कम्पनीले यस क्षेत्रमा स्थापित ब्याट्री उत्पादक कम्पनीहरू सीएटीएल र गोसनसँग नजिक रहेर सहकार्य गरिरहेको छ।

चाइना इभी डाटाट्र्याकरका अनुसार सन् २०२६ को मे महिनामा चीनमा चेरीको सबैभन्दा धेरै बिक्री हुने गाडी क्यूक्यू३ इभी इलेक्ट्रिक ह्याचब्याक कार बनेको छ, जसको सो महिनामा ८,५२३ युनिट डेलिभरी भएको थियो। यो कार चाँडै नै ‘चेरी क्यू’ को नाममा विश्व बजारमा प्रवेश गर्ने तयारीमा छ।


प्रतिक्रिया दिनुहोस्