हुआवेले ल्यायो मर्सिडिज भन्दा पनि भव्य र विलासी कार, यस्ता छन् विशेषता « Arthapath.com
२१ असार २०८३, आइतबार

हुआवेले ल्यायो मर्सिडिज भन्दा पनि भव्य र विलासी कार, यस्ता छन् विशेषता



चिनियाँ प्रविधि कम्पनी हुआवे र जेएसी मोटर्सको साझेदारीमा निर्मित अति-विलासी इलेक्ट्रिक कार ‘माएस्ट्रो एस८०० ग्राण्ड डिजाइन’ प्रविधि र परम्परागत कलाको उत्कृष्ट संयोजनसहित विश्व बजारमा आएको छ।

काठमाडौँ । सन् २०२६ को ‘ग्रेटर बे एरिया इन्टरनेसनल अटो शो’ को अवसर पारेर हुआवे र एन्हाइ जियाङहुआई अटोमोबाइल ग्रुप (जेएसी) को संयुक्त ब्रान्ड ‘माएस्ट्रो’ ले आफ्नो प्रमुख फ्ल्यागसिप कार एस८०० को अतिविलासी संस्करण ‘ग्राण्ड डिजाइन कलेक्टर एडिसन’ को बुकिङ खुला गर्‍यो।

चिनियाँ बजारमा यस कारको प्रारम्भिक मूल्य १६ लाखदेखि २० लाख युआन (३ करोड ५८ लाख ४० हजारदेखि ४ करोड ४८ लाख रुपैयाँ) सम्म हुने अनुमान गरिए पनि जुन महिनामा आयोजित ब्रान्ड गाला कार्यक्रममा यसको आधिकारिक बिक्री मूल्य १३ लाख ८८ हजार युआन (३ करोड १० लाख ९१ हजार २०० रुपैयाँ) बाट सुरु हुने घोषणा गरियो।

यो मूल्य अनुमान गरिएको भन्दा केही कम भए पनि यसको साधारण संस्करणको मूल्य ७ लाख ८ हजार युआन (१ करोड ५८ लाख ५९ हजार २०० रुपैयाँ) को तुलनामा झन्डै दोब्बर हो। हुआवेको कन्ज्युमर बिजनेस ग्रुपका अध्यक्ष रिचर्ड युले यस कारलाई २० लाख युआनको बजार क्षेत्रमा ब्रान्डको एउटा नयाँ र रणनीतिक खोजीका रूपमा ब्याख्या गरे।

परम्परागत कला र बाह्य बनावट

यो नयाँ विलासी कारको बाहिरी भागलाई ‘फार माउन्टेन स्यान’ र सेतो रङको दोहोरो टोनमा सजाइएको छ भने ‘राइजिङ सन गोल्ड’ जस्ता विशेष रङहरू पनि उपलब्ध गराइएको छ।

कारलाई आकर्षक देखाउन यसको विभिन्न भागमा सुनका बुट्टाहरू प्रयोग गरिएका छन्, जसमा बोनेटको बीच भागमा रहेको ठाडो पट्टी, फेन्डर, सी-पिलर, पाङ्ग्रा र पछाडिको भागमा सुनको लेप लगाइएका लोगोहरू समावेश छन्।

कारको साइड भागमा साढे चार मिटर लामो र मात्र ३ मिलिमिटर चौडा सुनको रेखा अत्यन्तै सूक्ष्म तरिकाले कोरिएको छ।

यसमा एरिसुन ब्रान्डका टायर र विशेष रूपमा १६ घण्टासम्म पालिस गरेर तयार पारिएको ‘पाई-स्टाइल’ विलासी पाङ्ग्राहरू राखिएका छन्।

भित्री सजावट र प्रविधिको संयोजन

कारको भित्री भागलाई अत्यधिक आरामदायी बनाउन ४ सिटको लेआउटमा डिजाइन गरिएको छ, जहाँ कलात्मक काठका १८ वटा प्यानलहरू प्रयोग गरिएका छन्।

ग्राहकले अतिरिक्त २ लाख युआन (४४ लाख ८० हजार रुपैयाँ) तिरेर चिनियाँ सांस्कृतिक कलामा आधारित विशेष प्याकेज पनि लिन सक्नेछन्, जसमा पुराना ग्राहकलाई ६० हजार युआन (१३ लाख ४४ हजार रुपैयाँ) सम्म छुटको व्यवस्था गरिएको छ।

यो विशेष प्याकेज अन्तर्गत ५ लाख १० हजारवटा हातको सिलाईबाट बनेको तारा चम्किने जस्तो देखिने छत, २ लाख २० हजार सिलाइयुक्त रेशमी सिरानी र ८० हजार सिलाइयुक्त सिटबेल्ट जस्ता विलासी सुविधाहरू उपलब्ध छन्। प्रविधिको कुरा गर्दा यस कारको छतमा अत्याधुनिक ८९६-लाइनको लिडार प्रणाली जडान गरिएको छ।

कारमा हुआवेको सबैभन्दा नयाँ ‘क्वानकुन एडीएस ५.०’ अत्याधुनिक ड्राइभिङ असिस्टेन्स प्रणाली रहेको छ, जसलाई भविष्यमा एडीएस ६.० मा स्तरोन्नति गर्न सकिनेछ।

गाडीको विलासी आकार र सडकमा उपस्थिति

माएस्ट्रो एस८०० ग्र्यान्ड डिजाइनको शारीरिक बनावट र यसको आकारले नै यो कुनै साधारण कार नभएर अतिविलासी श्रेणीको गाडी हो भन्ने कुरा प्रष्ट पार्छ। यसको कुल लम्बाइ ५४८० मिलिमिटर, चौडाइ २००० मिलिमिटर र उचाइ १५३६ देखि १५४२ मिलिमिटरसम्म छ।

यो आकार प्रसिद्ध जर्मन ब्रान्ड मर्सिडिज-बेन्जको ‘मायबाक एस-क्लास’ भन्दा पनि लामो हो। यसको ३३७० मिलिमिटर लामो ह्विलबेसले कारको भित्री भागलाई अत्यधिक फराकिलो र आरामदायी बनाएको छ।

बाहिरी बनावटको कुरा गर्दा, यस कारमा परम्परागत विलासिता र आधुनिक प्रविधिको रोचक मिश्रण देख्न सकिन्छ। यसको अगाडिको भागमा १ हजार २ सय ९६ वटा एलईडी बत्तीहरू प्रयोग गरेर तारा चम्किएको जस्तो देखिने विशेष ‘स्टारबर्स्ट’ हेडलाइट जडान गरिएको छ।

कारको ढोका खोल्दा भुइँमा प्रकाशको विशेष कार्पेट बन्ने पुडल लाइटको व्यवस्था छ। कारको ‘फास्टब्याक’ डिजाइन अर्थात् पछाडिको भाग हल्का ढल्किएको हुनाले यसले हावाको अवरोधलाई निकै कम गर्छ, जसले गर्दा कार तीव्र गतिमा गुड्दा पनि इन्धन वा ब्याट्रीको कम खपत हुन्छ।

यसका चारै वटा ढोकाहरू पूर्ण रूपमा विद्युतीय छन्, जसले ७७ डिग्रीको कोणसम्म आफैं ढोका खोल्न सक्छन्। ढोका खोल्दा बाहिर कुनै अवरोध वा वस्तु भएमा कारमा जडान गरिएका सेन्सरहरूले त्यसलाई पहिचान गरी ढोका ठोक्किनबाट जोगाउँछन्।

विमानको ‘फर्स्ट क्लास’ जस्तो !

कारको भित्री क्याबिनलाई एउटा गुड्ने महल वा हवाईजहाजको ‘फर्स्ट क्लास’ सुइट जस्तै आरामदायी बनाइएको छ। यसको चार सिटको लेआउटमा पछाडि बस्ने यात्रुहरूका लागि विशेष प्राथमिकता दिइएको छ। पछाडिका सिटहरू ‘जिरो-ग्र्याभिटी’ प्रविधिमा आधारित छन्, जसलाई १४८.५ डिग्रीको कोणसम्म ढल्काउन सकिन्छ।

यसले गर्दा लामो यात्रामा पनि यात्रुले पूर्ण शारीरिक आराम महसुस गर्न सक्छन्। सबै सिटहरूमा तातो वा चिसो बनाउने प्रविधि र २० विन्दुमा मसाज गर्ने प्रणाली राखिएको छ।

मनोरञ्जन र कार्यसम्पादनका लागि कारको अगाडिको ड्यासबोर्डमा तीनवटा ठुला स्क्रिनहरू छन्, जसमा चालकका लागि १२.३ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, बीचमा १५.६ इन्चको मुख्य कन्सोल स्क्रिन र अगाडि बस्ने यात्रुको मनोरञ्जनका लागि १६ इन्चको छुट्टै स्क्रिन छ।

यी सबै स्क्रिनहरू ह्वावेको आफ्नै ‘हार्मोनी ओएस’ सञ्चालन प्रणालीबाट चल्छन्। पछाडि बस्ने यात्रुहरूका लागि अझ अचम्मको प्रविधि राखिएको छ।

आवश्यक परेको बेला अगाडिको सिटको पछाडिबाट झन्डै ४० इन्चको विशाल प्रोजेक्टर स्क्रिन तल झर्छ, जसले सिनेमा हलको जस्तो अनुभव दिनुका साथै अगाडि र पछाडिको भागलाई अलग गरेर पूर्ण गोपनीयता कायम गर्छ। कारभित्र सानो फ्रिज पनि छ, जसले माइनस ६ डिग्रीदेखि १० डिग्रीसम्म चिसो र ३५ देखि ५० डिग्रीसम्म तातो बनाउन सक्छ।

यसका साथै, संगीतका पारखीहरूका लागि कारको विभिन्न भेरियन्ट अनुसार ३५ देखि ४३ वटासम्म उच्च गुणस्तरका स्पिकरहरू जडान गरिएका छन्, जसले २४६० वाटको सिनेमा हलकै जस्तो आवाज उत्पन्न गर्छन्।

अत्याधुनिक प्रविधि र सुरक्षा प्रणाली

ह्वावेको प्रविधि जोडिएका कारण यो कार बौद्धिक र सुरक्षाका दृष्टिकोणले विश्वकै अग्रणी स्थानमा आउँछ। यस कारको छतमा अत्याधुनिक लिडार प्रणाली, ४डी मिलिमिटर वेभ राडार, १२ वटा अल्ट्रासोनिक सेन्सर र कयौँ उच्च क्षमताका क्यामेराहरू जडान गरिएका छन्।

यी सबैको मद्दतले कारले आफ्नो वरिपरिको वातावरणलाई पूर्ण रूपमा स्क्यान गर्छ र ह्वावेको ‘क्वानकुन एडीएस ५.०’ ड्राइभिङ असिस्टेन्स प्रणालीमार्फत चालक बिना नै गाडी गुडाउन सक्ने (एल थ्री प्लस अटोनोमस ड्राइभिङ) क्षमता राख्छ।

सुरक्षालाई ध्यानमा राखेर यसमा ‘फुल-चेन रिडन्डेन्सी’ वा दोहोरो ब्याकअप प्रणाली प्रयोग गरिएको छ। यसको अर्थ कारमा दुईवटा चिप, दुईवटा सेन्सर सेट र दुईवटै पावर सप्लाई (ब्याट्री) को व्यवस्था छ।

दुर्घटना वा कुनै कारणवश एउटा प्रणालीले काम नगरेमा अर्को प्रणाली तुरुन्तै सक्रिय हुन्छ र गाडीलाई सुरक्षित राख्छ। यसको ‘एक्समोशन’ बडी कन्ट्रोल र एक्टिभ सस्पेन्सन प्रणालीले सडकको खाल्डाखुल्डी वा उबडखाबडलाई पहिचान गरेर कारको उचाइलाई आफैं ४५ मिलिमिटरसम्म तलमाथि समायोजन गर्छ।

यस कारको अर्को विशेषता भनेको यसको पछाडिको पाङ्ग्रा पनि १२ देखि १६ डिग्रीसम्म घुम्न सक्छ, जसले गर्दा यो साढे ५ मिटर लामो विशाल कारलाई साँघुरो ठाउँमा पनि सजिलै मोड्न र पार्क गर्न सकिन्छ। यो कार विशेष परिस्थितिमा गंगटो जस्तै छड्के हिँड्न पनि सक्छ।

कारको सुरक्षा संरचनामा ९२ प्रतिशत उच्च गुणस्तरको स्टिल र आल्मुनियम प्रयोग गरिएको छ, जसको छतले १६ टनसम्मको दबाब धान्न सक्छ। कारको विन्डशिल्ड र सबै ढोकाहरूमा डबल-लेयर आवाज प्रतिरोधात्मक सिसा प्रयोग गरिएको हुनाले बाहिरको कुनै पनि हल्ला कारभित्र सुनिँदैन।

आकस्मिक अवस्थाका लागि यसमा ‘सीएएस ५.०’ अल-डाइमेन्सनल कोलिजन अभोइडेन्स सिस्टम छ, जसले १ देखि १५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेका बेला पनि अगाडि वा साइडबाट हुने दुर्घटनालाई आफैं रोक्न सक्छ।

कार्यक्षमता र इन्जिन

माएस्ट्रो एस८०० ग्र्यान्ड डिजाइन दुईवटा फरक पावरट्रेन विकल्पमा उपलब्ध गराइएको छ। यसको एउटा संस्करण ‘एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल’ (इआरइभी) हो, जसमा १.५ लिटरको रेन्ज एक्सटेन्डर इन्जिन र तीनवटा मोटरको प्रणाली जडान गरिएको छ।

यसले अगाडि १६० किलोवाट र पछाडि दुईवटा २३७.५ किलोवाटका मोटरहरू प्रयोग गरेर कुल ६३५ किलोवाट ऊर्जा उत्पादन गर्छ। यसमा ६५ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले ब्याट्रीबाट मात्र २७६ किलोमिटर र इन्जिन समेतको सहयोगमा कुल १२०० किलोमिटरको यात्रा तय गर्न सक्छ।

अर्को संस्करण पूर्ण विद्युतीय (बीइभी) हो, जसमा हुआवेको दुईवटा मोटर जडित प्रणाली छ। यसले अगाडि १६० किलोवाट र पछाडि २३० किलोवाट गरी कुल ३९० किलोवाट ऊर्जा दिन्छ। यसमा १२० किलोवाट आवरको हुआवे ‘जायन्ट व्हेल’ ब्याट्री प्लेटफर्म प्रयोग गरिएको छ, जसले एकपटकको फुल चार्जमा ७८० किलोमिटरको माइलेज प्रदान गर्छ।

भविष्यको रणनीति

चीनको विलासी कार बजारमा लामो समयदेखि बीएमडब्लु, मर्सिडिज-बेन्ज र अउडी जस्ता जर्मन ब्रान्डहरूको वर्चस्व रहँदै आएकोमा हालका वर्षहरूमा चिनियाँ घरेलु ब्रान्डहरूले उनीहरूलाई कडा चुनौती दिइरहेका छन्।

पोर्श जस्ता स्थापित ब्रान्डको बिक्री चीनमा लगातार घटिरहेका बेला हुआवे समर्थित माएस्ट्रोले आफ्नो बलियो उपस्थिति जनाएको छ। गत वर्षको मे महिनामा सार्वजनिक भएको माएस्ट्रो एस८०० को साधारण संस्करणले १३ महिनामा १९ हजारभन्दा बढी गाडीहरू बिक्री गरिसकेको छ भने डिसेम्बर महिनामा मात्रै यसको बिक्री ४२२३ युनिट पुगेको थियो।

ग्राण्ड डिजाइन संस्करणको आगमनले कम्पनीको बजार ओगटने क्षमता अझ बढ्ने र यसको मासिक बिक्री २५०० युनिटसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

यसका साथै माएस्ट्रोले बजारमा आफ्नो पकड बलियो बनाउन भी८०० र भी६८० नामका दुईवटा नयाँ एमपीभी गाडीहरू पनि सार्वजनिक गरेको छ, जसको बुकिङ सुरु भएको एक घण्टामै ३२०० भन्दा बढी अर्डर आइसकेको छ।


प्रतिक्रिया दिनुहोस्